१२ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कार्यालयमा भिड, सेवा प्रवाहमा सामान्य सुधार

जेनजी आन्दोलनपछिको निर्वाचनबाट दुईतिहाइनजिक बहुमत ल्याएर नयाँ सरकार गठन भए पनि सरकारी कार्यालयले दिने सेवामा सामान्य सुधार भएको पाइएको छ। सरकारी कार्यालयमा सेवाग्राही जाँदा विगतको तुलनामा सेवा प्रवाहमा सामान्य सुधार भएको पाइए पनि सरकारी सेवाका लागि अझै पनि लामो लाइन बस्नुपर्ने बाध्यता सेवाग्राहीले भोगिरहनुपरेको छ।

कोसी अस्पतालको ओपिडीको पुर्जा लिन अझै पनि कम्तीमा एकदेखि दुई घन्टासम्म लाइनमा बस्नुपरेको स्थानीय साजीलाल राजवंशीले बताए। यति मात्र हैन डाक्टरलाई जाँच गराइसकेपछि एक्सरे, भिडियो एक्सरे, ल्याबलगायतको पैसा तिर्न झन् सास्ती भोग्नुपरेको उनको गुनासो छ।

कोसी अस्पतालले सेवा सुधार गर्दै ओपिडीको पुर्जा लिन टोकनको व्यवस्था गरेको छ, जसका कारण धेरै समय कुर्नुपरे पनि बिरामीले बस्न पाएका छन्, तर ल्याबको पैसा तिर्न भने घन्टौं लाइनमा उभिनुपर्ने बाध्यता छ। निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाउने सरकारको निर्णयले विराटनगरस्थित कोसी अस्पतालमा बिरामीको चाप बढेको छ।

यस्तै सेवाग्राहीको भीड हुने जिल्ला प्रशासन कार्यालयमा पनि लाइन बस्नुपर्ने बाध्यता छ, तर सेवा प्रवाहमा भने सुधार भएको सेवाग्राही बताउँछन्। विराटनगर १९ बैजनाथपुरकी रमिला वाग्ले मण्डलले विगतमा जस्तो कर्मचारीले बिचौलियामार्फत सेवा दिने प्रचलन हटेको बताइन्। छोरीको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय आएकी उनले नागरिकता बनाउन गाह्रो नभएको बताइन्। उनले भनिन्, ‘पहिलेभन्दा सेवा प्रवाहमा सुधार भएको रहेछ विनाझन्झट नागरिकता बन्यो।’

यस्तै सेवाग्राहीको धेरै भीड हुने विराटनगरस्थित मालपोत कार्यालयमा पनि सेवा प्रवाहमा सुधार भएको सेवाग्राहीले बताए। मालपोत कार्यालयमा सेवा लिन धेरै झन्झट नभएको धितो फुकुवा गर्न मोरङको जहदा गाउँपालिका– ७ बाट आएका बृहस्पति राजभरले बताए। उनले मालपोतमा सेवा लिन पहिलेजस्तो झन्झट नभएको बताए। विराटनगर मालपोत कार्यालयमा लेखापढी गर्ने लेखापढी व्यवसायीले पनि सेवा प्रवाहमा सुधार भएको प्रतिक्रिया दिएका छन्। लेखापढी व्यवसायी तारा भण्डारीले मालपोत कार्यालयमा विगतमा जस्तो सेवाग्राहीले अतिरिक्त रकम दिनु नपरेको बताइन्।

यस्तै नयाँ सरकार आएपछि लेखापढी व्यवसायीलाई समेत मालपोत कार्यालयपरिसरमा जान अनिवार्य पोसाकको व्यवस्था गरिएको पाइएको छ। लेखापढी व्यवसायीलाई पोसाक र परिचयपत्र अनिवार्य गरिएपछि लेखापढी व्यवसायीको पेसा पनि मर्यादित हुँदै गएको उनीहरूको बुझाइ छ। यसले मालपोत कार्यालयमा अनधिकृत मानिसको प्रवेश पनि रोकिएको व्यवसायी बताउँछन्।

यता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विगतको तुलनामा सरकारी कार्यालयले दिने सेवाप्रवाहमा सुधार भएको बताए। कतिपय विषयमा व्यावहारिक र प्राविधिक कठिनाइका कारण चाहेर पनि गर्न नसकिएको स्पष्ट पारे। कोसी अस्पतालमा धेरै गुनासो आएपछि जिल्ला प्रशासनले अनुगमन गरेको उनले बताए।

अनुगमनका क्रममा अस्पतालमा कार्यरत धेरैजसो डाक्टरहरू अनुपस्थित भएपछि कार्यालय समयमा अनिवार्य उपस्थित हुने प्रशासनले निर्देशन दिएको र त्यसपछि अस्पतालमा डाक्टरहरूको कार्यसमयमा उपस्थिति हुन थालेको जानकारी दिए।

प्रकाशित: १२ असार २०८३ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App