२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन प्रतिनिधिः सांसद, अध्यक्ष र उपाध्यक्षले जिते, पूर्व अध्यक्षले हारे

चुनावी प्रतिस्पर्धाबाट चयन भएका उदयपुरका एमाले प्रतिनिधि। तस्बिरः महेश्वर

नेकपा (एमाले)को आउँदो २७ देखि २९ गतेसम्म हुन गइरहेको आसन्न ११ औँ महाधिवेशनका लागि उदयपुरबाट प्रतिनिधि छनौट कार्य रोमाञ्चक तरिकाले सम्पन्न भएको छ। सर्वसम्मत छनौट असम्भव भएपछि स्वस्थ चुनावी प्रतिस्पर्धाबाट कार्यकर्ताहरूले प्रतिनिधि छान्दा सत्ताधारी काखा परे भने भूतपूर्वहरू पाखा लागेका छन्।

निर्वाचन क्षेत्र १ बाट ४ जना खुल्ला, २ महिला र १ युवा प्रतिनिधिमा क्रमशः कालुमान लामा, पर्मेश्वर घिमिरे, भागवत राउत र दुर्गाकुमार थापा निर्वाचित भएका छन्। सबैभन्दा बढी मत ल्याउने लामा जिल्ला कमिटी उपाध्यक्ष तथा चौदण्डीगढी नगरप्रमुख हुन्।

दोस्रो धेरै मत पाएर जितेका घिमिरे यसअघिका जिल्ला कमिटी अध्यक्ष हुन्। राउत वर्तमान जिल्ला अध्यक्ष हुन् भने थापा बेलका नगरपालिकाका पूर्व मेयर हुन्। मत गणनाको सुरुवातदेखि सबैलाई पछि पार्दै आएका पूर्व जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउत भने नतिजा आउँदा पराजित हुन पुगे। १ नं. निर्वाचन क्षेत्रबाट खुल्ला ४ कोटाका लागि ९ जनाको प्रतिस्पर्धा चलेको थियो।

महिलातर्फ महेश्वरी राई र कान्ता राई निर्वाचित भए भने युवामा सुरेन्द्र राईले जितेका छन्। महेश्वरी त्रियुगा नगर उपप्रमुख हुन् भने कान्ता जिल्ला सदस्य। उपमेयर राईकै स्वकीय सचिव खगेन्द्र पोखरेललाई पराजित गर्दै युवा प्रतिनिधि बनेका सुरेन्द्र बेलका नगरपालिका ७ का पूर्व वडाध्यक्ष हुन्। महिलातर्फ ६ जना र युवामा २ जनाको स्पर्धा थियो।

त्यसैगरी २ नं. क्षेत्रबाट खुल्लातर्फ अम्बर रायमाझी, ज्ञानेन्द्र श्रेष्ठ र जीवनाथ दाहाल प्रतिनिधि चयन भएका छन्। महिलामा गीता खड्का र कुमारी आले तथा युवामा हेम खड्काले बाजी मारेका छन्। २ को खुल्लातर्फ ३ जनाको कोटामा ८ जनाले स्पर्धा गरेका थिए भने महिलातर्फ २ को ठाउँमा ४ र १ युवाको कोटामा ३ जनाले प्रतिस्पर्धा गरेका थिए।

२ बाट प्रतिनिधि छानिएका रायमाझी जेड आन्दोलनपछि विघटिन प्रतिनिधि सभाका सदस्य हुन् भने श्रेष्ठ कटारी नगरपालिकाका पूर्व मेयर हुन्। दाहाल ०७९ को प्रदेश सभामा पराजित एमाले उम्मेदवार हुन्।

प्रकाशित: १५ मंसिर २०८२ २१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App