माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बहुमतका आधारमा पार्टी एकतामा जाने भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट बहुमतले निर्णय गर्दै पार्टी एकताको खाका तय गर्ने तयारीसहित पार्टी अघि बढेको छ ।
अहिले नेकपा एकीकृत समाजवादीमा नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषय जोडले उठेको छ । त्यहाँ केही नेताले पार्टीलाई पुनर्गठन गर्नुपर्ने तर माओवादीसँग एकता गर्न नहुने तर्क राखिरहेका बेला पार्टीले भने बहुमतका आधारमा एकताको निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ ।
अहिले पार्टी बैठक जारी रहँदा बैठकमा सहभागी एक नेताले नागरिकसँगको कुराकानीमा भने, ‘केही आवाज पनि उठेका छन् । तर पार्टीको केन्द्रीय समिति बैठक अघि नै पार्टी एकताको विषय जोडले उठेको हो । बैठकमा पनि सोही कुराले प्राथमिकता पाएको छ । केहीले हुँदैन भनेका पनि छन् । तर पार्टीले बहुमतका आधारमा निर्णय गर्ने हो । हामी बहुमतलाई आत्मसाथ गरेर अघि बढ्छौँ ।’
पार्टीले आजै नै एकताको निर्णय गर्ने तयारी पनि गरेको छ ।
पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायतका एक दर्जनभन्दा बढी नेताले माओवादीसँग एकता गर्न नहुने तर्क राखिरहेका छन् ।
प्रकाशित: १४ कार्तिक २०८२ १९:११ शुक्रबार





