सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाको तेस्रो दिन जारी छ। सोमबार अपराह्न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।
अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ। सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन्।
मत गणनाका क्रममा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले १२ हजार ७६२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ४४४ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले १० हजार ४४६, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले आठ हजार ५५४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले दुई हजार ५७१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १६:२० सोमबार





