राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
एमआरआई मेसिन खरिदमा घोटाला गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भण्डारीसहित १३ जनाविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोस्ट राज ज्ञवालीलाई पनि अख्तियारले प्रतिपक्षी बनाएको छ।
प्रकाशित: २३ आश्विन २०८२ १४:२१ बिहीबार





