४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलिङ पिरियडमाथिको गडबडी: छानबिन समितिले बुझायो प्रतिवेदन, सभापति खतिवडा मुख्य जिम्मेवार

कुलिङ पिरियडमा भएको गडबडीसम्बन्धमा छानबिन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।  

संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।  

विधेयक लेखनका क्रममा भएको उक्त गल्तीमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई मुख्य जिम्मेवार देखाउँदै समितिले आफ्नो प्रतिवेदनलाई मंगलबार बिहानमात्र अन्तिम रुप दिएको थियो । समिति  सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुराले उक्त त्रुटिको नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष समितिको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा एक कार्यक्रमबीच समिति सभापति परियारले सभामुख घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।  

लगातार तीन दिनसम्म बसेको छानबिन समितिको बैठकले आज बिहान ४ बजे प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । प्रतिवेदनलाई अन्तिम रुप दिनेक्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको फरक मत आएपछि बैठक केहीबेर अशान्त बनेको थियो । सदस्यहरूबिच झन्डै हात हालाहालको स्थिति आएपछि सभापति परियारले रोकेका थिए ।  

गत जेठ २ गते राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको सङ्घीय निजामती सेवा विधेयकमाथि असार १ गतेमात्र प्रतिनिधि सभामा छलफल गरिएको थियो । प्रतिनिधि सभाले असार १५ गते पारित गरेको उक्त विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धमा भने गडबडी गरिएको थियो । समितिले २ वर्षको समय राख्ने गरी सहमति गरेपनि विधेयकमा भने उक्त् कुरालाई दोहोरो अर्थ लाग्ने गरी उल्लेख गरिएको थियो ।  चर्को विवाद भएपछि संसदले छानबिनका लागि विशेष समिति नै गठन गरेको थियो ।  

परियार संयोजक रहेको समितिमा कांग्रेसबाट सांसद सुशीला थिङ, नेकपा (एमाले)बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य थिए । 

प्रकाशित: २० श्रावण २०८२ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App