भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् । आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उनले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिए ।
मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई अनुगमनस्थलमा बोलाएर यथाशीघ्र अलपत्र पुलको काम सम्पन्न गर्न निर्देशन दिए । ठेकेदार साहले जेठभित्र कुनै पनि हालतमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले यदी काम गर्न नसक्ने हो भने ठेक्का तोड्ने दिने चेतावनी दिए ।
ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी आगामी जेठभित्र बाँकी काम गर्ने प्रतिबद्धता जनाए । पुल निर्माण गर्न पप्पु शिवशङ्कर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो । पुल सम्पन्न नहुँदा गैडाटारवासीले सास्ती खेप्दै आइरहेका छन् ।
मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने गरी बागमती नदीमा बनाउन लागिएको बडहर्वा पुलको पनि अनुगमन गरे । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल १५ वर्षदेखि अलपत्र छ ।
विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा पुलको शिलान्यास गरेका थिए ।
पुल निर्माण हुन नसक्नुको कारणबारे आफूले छानबिन गर्ने मन्त्री घिसिङले बताए । विकासको मुख्य आधार भनेको पुल भएकाले यस्ता पूर्वाधार निर्माण र विकास रोक्न नहुने उनले बताए ।
पूर्वाधार निर्माणको अनुगमनसँगै मन्त्री घिसिङले आजै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गरे ।
प्रकाशित: २६ मंसिर २०८२ २१:४१ शुक्रबार





