मधेश प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारले निरन्तरता पाउने भएको छ।
बिहीबार मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईबीच भएको छलफलपछि वर्तमान सत्ता समीकरणलाई यथावत् राख्ने सहमति भएको हो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले मधेश प्रदेशको राजनीतिक परिस्थिति अन्य प्रदेशभन्दा फरक रहेकाले यहाँको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको बताए।
उनका अनुसार अन्य प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा परिवर्तनको अवस्था देखिए पनि मधेश प्रदेशमा भने हाल कायम रहेको राजनीतिक समीकरणलाई निरन्तरता दिने विषयमा तीन दलबीच समझदारी बनेको छ।
गठबन्धन दलहरूले प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्दै आगामी दिनमा साझा एजेन्डाका आधारमा सहकार्यलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रकाशित: ३२ असार २०८३ १७:१८ बिहीबार





