३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस अधिवेशन आजदेखि

नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारदेखि वडा तहबाट सुरु हुँदै छ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा शनिबार र आइतबार अधिवेशनसहित नेतृत्व चयन हुँदैछ।

केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अघि सार्दै एकअर्काको महाधिवेशन बहिस्कार गर्न आह्वान गरिरहेका छन्। बाँकेमा गुटगत लबिइङ र प्रतिस्पर्धाबिच पनि अधिवेशन रोक्ने वा बहिस्कार गर्ने अवस्था देखिएको छैन। चारतारे झन्डा र रूख चिह्नलाई साझा पहिचान मान्दै कार्यकर्ता नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्। बाँकेका ८१ वटै वडामा शनिबार र आइतबार अधिवेशन हुने कांग्रेस बाँकेले जनाएको छ।

जिल्ला सभापति नारायण गौडेलका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। उनले भने, ‘पार्टीभित्र आआफ्ना धारणा होलान् तर यतिबेला चुनाव चिह्न रूख र चारतारे झन्डा नै आधिकारिक पहिचान भएकाले नेता तथा कार्यकर्ता अधिवेशनमा जुटेका छन्।’

८१ वडामध्ये करिब ४९ भन्दा बढीमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने केही वडामा निर्वाचन हुन सक्नेछ। जिल्लाका करिब साढे ११ हजार क्रियाशील सदस्यबाट दुई हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि छनोट हुने कांग्रेस बाँकेले जनाएको छ।  

प्रकाशित: ३ आश्विन २०८३ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App