पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने बताएकी छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता र समानताका मूल्यलाई आत्मसात् गरेको संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।
उनले राजनीतिक दलहरूले आफ्ना आन्तरिक लोकतान्त्रिक अभ्यास र एकतालाई सुदृढ गर्दै राष्ट्रिय हितका विषयमा आपसी संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। यस्तो सहकार्यबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताका चाहना र आकाङ्क्षालाई उचित प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएकी छन्। बालबालिका, युवा, प्रौढ तथा ज्येष्ठ नागरिक सबैका अधिकार, सम्मान र सुरक्षालाई समान महत्वका साथ सम्बोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरेकी छन्।
संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको भावना अझ बलियो बनाउँदै शान्त, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्दै उनले सम्पूर्ण नेपालीमा संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरेकी छन्।
प्रकाशित: ३ आश्विन २०८३ ०६:३७ शनिबार





