७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेन-जी विद्रोहलाई सम्बोधन गर्ने गरी कांग्रेसको संकल्प प्रस्ताव आउँछ: प्रताप

तस्बिर: बिमला रोक्का/नागरिक

नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले गत भदौमा भएको जेन-जीको विद्रोह र युवाहरूको आक्रोशलाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो संकल्प प्रस्ताव ल्याउने बताएका छन्।

बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ मा बोल्दै नेता पौडेलले मुलुकको अवस्था परिवर्तनका लागि सडकमा पोखिएको युवा असन्तुष्टिलाई सम्बोधन गर्नु नै कांग्रेसको अबको मुख्य बाटो भएको जिकिर गरे।

पौडेलले राजनीतिक दस्तावेज वा घोषणापत्र तत्कालीन समयको सन्दर्भसँग जोडिने बताए।

‘२०६४ सालमा शान्ति प्रक्रिया, ६९ सालमा संविधान निर्माण र ७४ सालमा संविधान कार्यान्वयन घोषणापत्रका सन्दर्भ थिए,’ पौडेलले भने, ‘तर आजको मूलभूत सन्दर्भ भनेको भदौ २३/२४ मा भएको जेन-जी विद्रोह हो। नेपाली नागरिक र युवाले व्यवस्था होइन, अवस्था परिवर्तनका लागि गरेको त्यो विस्फोटलाई सम्बोधन गर्ने रोडम्याप नै अबको हाम्रो संकल्प प्रस्तावको मुटु हुनेछ।’

उनले कांग्रेसले अब भौतिक विकासमा मात्र नभई व्यक्तिको व्यक्तिगत खुसी र आत्मसम्मानमा जोड दिने बताए।

‘हामीले समुन्नत नेपाल र सम्मानित नेपालीको लक्ष्य लिएका छौं,' उनले भने, ‘समुन्नतिको केन्द्रमा अब व्यक्ति हुन्छ। व्यक्तिको आकांक्षा, प्रगति, पहिचान, प्रतिष्ठा र खुसी नै अबको सम्पन्नताको मानक हो। भौतिक पूर्वाधारका कुराहरू त्यही व्यक्तिको खुसीका लागि हुनेछन्।’

नेता पौडेलले घोषणापत्रमा पुराना राम्रा कामको निरन्तरता र कार्यान्वयन हुन नसकेका काममा नवीनता खोजिने बताए। ‘हिजोका वाचा किन पूरा भएनन् र अबको बदलिँदो परिस्थितिमा त्यसलाई कसरी पूरा गर्ने भन्ने स्पष्ट खाकासहित हामी आउँदैछौं,' उनले भने, ‘यो केवल आश्वासनको पत्र होइन, नागरिकसँग गरिने प्रतिज्ञा हो।’

प्रकाशित: २९ माघ २०८२ २०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App