आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा-२ मा दिनेशप्रसाद यादव परसैलालाई उम्मेदवार बनाएको छ। दोस्रो संविधानसभा सदस्यमा निर्वाचित परसैलालाई कांग्रेसले यसपालि प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको हो।
२०७९ को निर्वाचनमा कांग्रेसकै रामकृष्ण यादव यस क्षेत्रबाट निर्वाचित भएका थिए। यस पटक यादवले टिकटका लागि दौडधुप गरे पनि अन्ततः परसैलाले पार्टीको टिकट पाएका छन्।
यादव दुइटै संविधानसभाको निर्वाचन तत्कालीन निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए भने परसैला १ बाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। परसैला धनुषाकै सहिदनगर नगरपालिका- ९ का निवासी हुन्।
कांग्रेस यस क्षेत्रमा सांगठनिक हिसाबले मजबुद रहेको छ। यसमा कुल ७ वटा स्थानीय तहका ४४ वडा पर्छन्, जसमा कांग्रेस १९ वटा वडामा निर्वाचित छ।
त्यस्तै कांग्रेसले धनुषाको अन्य तीनवटा क्षेत्रमा पनि उम्मेदवारको नाम टुंगो लगाएको छ। धनुषा-१ मा नवनिर्वाचित सहमहामन्त्री मुक्ताकुमारी यादव, ३ मा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र ३ बिमलेन्द्र निधिलाई उम्मेदवार बनाएको छ।
प्रकाशित: ६ माघ २०८२ ०७:०८ मंगलबार





