राजनीतिक दलहरुको सभासम्मेलन खुला चौरबाट पार्टी प्यालेसमा कैद भएका थिए। २०७९ सालको आम निर्वाचनपछि खुला चौरमा दलीय कार्यक्रम गर्न करिब करिब बन्द भएको अवस्था थियो। अझ काठमाडौं महानगरपालिकाले टुँडिखेल मर्मतसंभार नाममा दलीय कार्यक्रम बन्द गराएपछि सार्वजनिक सभाहरू ठप्प जस्तै भएको थियो । सडकमा प्रदर्शन पनि निकै कमजोर हुन थालेको थियो । यसले सडकजामको समस्यालाई पनि एक हदसम्म सुल्झाएको थियो । ठुला पार्टी प्यालेसहरूमा दलीय कार्यक्रम हुन थालेका थिए। सडक ठप्प पारेर नारा जुलुस गर्ने दललाई जनताले मन पराएका थिएनन्। केही हदसम्म दलहरूले पनि यस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको देखिँदैनथ्यो।
२०७४ सालसम्म राजनीतिक दलले ठुला सभा गर्दै आएका थिए । २०७९ को निर्वाचनमा आइपुग्दा ठुला सभा भन्दा कोठे बैठकहरू बढी हुन थाले। भदौ २३ गते भएको जेनजी विद्रोह र २४ गते भएको विध्वंसात्मक गतिविधि पछि राजनीतिक दलहरू खासगरी कांग्रेस एमालेलाई ठुला सभा गर्न कठिन भयो। तर एमालेले मङ्सिर २७ गते भक्तपुरमा विशाल आमसभासाथ ११ महाधिवेशनको उद्घाटन गर्यो। एमाले सुरु गरेको सभापछि कांग्रेसलाई पनि जनतामाझ जान सहजीकरण गर्यो । यही बेला कांग्रेसको विशेष महाधिवेशन भयो। पुसको २७ गते भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा देशभरका कार्यकर्तामाझ कांग्रेस देखिएको थियो । त्यति बेला आन्तरिक रूपमा देखिएको कांग्रेस बुधबार जनकपुरमा पुग्दा जनतामाझ देखियो।
एमालेको महाधिवेशनपछि कांग्रेसले विशेष महाधिवेशनको उद्घाटन गर्दा पनि खुलेर नआएका जनता जनकपुरको तिरूहुतिया गाछीमा सहभागी भएका थिए। राजनीतिक दलहरूप्रति वितृष्ण रहेको छ भन्ने भ्रमलाई कांग्रेसले जनकपुरबाट खण्डित गरेको छ।
विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो शक्ति प्रदर्शन गर्दा युवाहरू नेताहरूप्रति पूरै भरोसा रहेको देखियो। दोस्रो पुस्ताले नेतृत्व गरेको कांग्रेस सभामा विमलेन्द्र निधि जस्ता नेताहरू फट्के किनाराको साक्षी जस्तो देखिएका थिए। तिरूहुतिया गाछी मैदानमा भएको सभ्य र भव्य सभामा कांग्रेसका नेताहरूले समकालीन र अग्रज नेताहरूलाई कसैले पनि गाली गरेनन् । विपक्षी दलहरूलाई पनि गाली गरेनन् । गालीको वर्षाबाट नेताहरू ओझेलमा परे। सामाजिक सञ्जालमा अशिष्ट गालीको वर्षा हुँदा पनि कांग्रेसका नेताहरूले देखाएको शिष्टता लोभलाग्दो थियो। अहिले पुराना दलहरुको शैली पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुलुकका विभिन्न स्थानहरूमा सभा गर्न थालेको छ। दलीय राजनीतिमा प्रवेश गरेको रास्वपा निकै उत्तेजक बनिरहेको छ। त्यसका नेताहरूले गैर संवैधानिक र गैर कानुनी अभिव्यक्ति दिइरहँदा कांग्रेसका नेताहरूले शिष्टता देखाइरहेका छन्।
सभापति गगन थापाले नेतृत्व सम्हालेपछि पहिलो पटक मधेस प्रदेशको जनकपुरस्थित तिरूहुतिया गाछीमा पहिलो चुनावी सभा गर्दै शक्ति प्रदर्शन गरेको थियो । सभामा मधेस प्रदेशका ८ वटा जिल्ला र आसपासका जिल्लाहरूबाट ठुलो सङ्ख्यामा सहभागिता भएको थियो । तिरूहुतिया गाछी मैदान र मैदानबाहिर पनि उत्तिकै भीड रहेको थियो । सबेको अनुहारमा नयाँ नेतृत्वमा भरोसा देखिन्थ्यो। सो सभालाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले देशको नेतृत्व सम्हाल्दै सबै नेपालीको जिम्मा राज्यले लिने बताउँदै गर्दा सहभागीहरूको मुहारमा मुस्कान र शरीरमा उत्साहको कम्पन पैदा भएको आभास हुन्थ्यो। सभापति थापाले कोही नेपाली युवाहरू विदेशमा छन् भने उनीहरूको परिवारको जिम्मा राज्यले लिने बताएका थिए।
अहिले हजारौको सङ्ख्यामा नेपालीहरू विदेशमा रहेका छन्। उनीहरूका आमाबुबाहरू नेपालमा रहेका छन्। नेपालमा रहेका आमाबुबाको जिम्मा राज्यले लिन बताउँदा एक प्रकारको भरोसा जागृत भएको पाइन्थ्यो। हजारौँको सङ्ख्यामा उपस्थित रहेका समर्थक शुुभेच्छुकहरुलाई आश्वस्त पार्दै सभापति गगन थापाले मधेसलाई ज्ञानको केन्द्र बनाउने र सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा लाग्ने अभिव्यक्ति दिएका थिए। अथाह ज्ञान सागर रहेको मधेसलाई ज्ञान केन्द्र बनाउने जिम्मा पनि कांग्रेस सभापति गगन थापाले नै लिएका थिए। सर्लाहीको क्षेत्र नं ४का उम्मेदवार रहेका थापा आफै मधेस प्रदेशमा आएपछि यहाँको चुनावी माहौल तातिएको छ। कांग्रेस सभापति गगन थापाले मधेसबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा मधेसको निर्णायक भूमिका रहने बताएका छन्।
आफू मधेसको ‘बेटा’ बन्न आएको उल्लेख गर्दा तालीको वर्षा नै भएको थियो । मधेसका ऐतिहासिक व्यक्तित्वहरूको साहस र जीवनशैलीबाट प्रेरणा लिएको बताएर मन जित्ने कोसिस पनि गरेका थिए । कांग्रेस अब शुद्धीकरण र आत्म समीक्षासहित जनविश्वास लिन मैदानमा आएको उनको भनाइ थियो। उनीसँगै रहेका उपसभापति विश्वप्रकास शर्मा प्रति जनताको भरोसा देखिएको थियो । कार्यक्रममा सीमित वक्ता रहेका कारण छोटो मिठो सभा भयो।
सभामा नेतृत्वले राष्ट्रिय एकता, संविधानको रक्षा र सुशासनको प्रतिबद्धता कांग्रेसले पुन दोहो¥यायो। यद्यपि मधेसका नागरिकका दैनिक देखिएका समस्या—रोजगार अभाव, कृषि सङ्कट, सीमापार व्यापार र तस्करी रोजगारीका लागि युवा पलायन—जस्ता मुद्दामा ठोस विषय वस्तुहरू सार्वजनिक भएनन्। मधेसको राजनीतिक चेतना विगत दशकमा निकै परिपक्व भइसकेको अवस्थामा यति बेला कांग्रेसले भावनात्मक भाषण गरेर मात्रै यहाँका मतदाताले अब केवल ऐतिहासिक विरासतका आधारमा समर्थन दिने अवस्था देखिँदैन।
कांग्रेसका लागि अर्को चुनौती विश्वसनीयता हो। सङ्घीयता कार्यान्वयन, समावेशी प्रतिनिधित्व, र प्रदेश–केन्द्र सम्बन्ध सन्तुलनजस्ता विषयमा पार्टीको धारणामा सन्तुलन मिलाएको छैन। मधेसी जनताहरू पहिचान र अधिकारका मुद्दा संवेदनशील छन्। यस्ता सवालमा स्पष्ट र सुसङ्गत दृष्टिकोण नदेखिएसम्म ठुलो जनसभा मात्रले राजनीतिक आधार मजबुत बनाउँदैन भन्ने विषयलाई कांग्रेसले भुल्नु हुँदैन। जनकपुरको मैदानमा उपस्थित भएका जनतालाई स्थायी समर्थनमा रूपान्तरण गर्न नेतृत्व सशक्तीकरण, र पारदर्शी कार्यशैलीप्रति जना थप आश्वस्त हुनुपर्नेछ।
तिरुहुतिया गाछीको सभा कांग्रेसका लागि अवसर देखिएको छ। मधेसमा पुनः विश्वास जित्ने सम्भावना अझै बाँकी छ। भाषण र नाराले मात्र मतदाता सन्तुष्ट छैनन्, स्पष्ट दृष्टिकोण दिनसक्यो भने तिरुहुतिया गाछीमा भेटिएको कांग्रेसले मधेसमा सफलता प्राप्त गर्न असहज छैन।
प्रकाशित: ८ फाल्गुन २०८२ ११:२८ शुक्रबार





