नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ। फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीका तर्फबाट जनतामाझ लैजाने घोषणापत्रका साथै प्रधानमन्त्रीको उम्मेदवार तय गर्न कांग्रेसले बैठक बोलाएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। पुसको अन्तिम साता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पहिलो पटक बैठक बोलाइएको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले सूचना प्रकाशित गरी बैठक बोलाइएको जानकारी गराएका हुन्। विशेष महाधिवेशनबाट पुस ३० गते गगनकुमार थापा नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको थियो।
उक्त विषयमा पार्टीको आधिकारिकता विवादका कारण थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपामा गएको छैन। फागुन २१ गते हुने आम निर्वाचनको टिकट केन्द्रीय कार्यालय बाहिरबाट नै थापा नेतृत्वको कार्यसमितिले वितरण गरेको थियो।
सर्वोच्च अदालतमा पार्टी आधिकारिताको मुद्दा विचाराधीन रहे पनि निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षमा अन्तरिम आदेश नदिएपछि थापा नेतृत्वको नयाँ कार्यसमितिलाई सानेपामा रहेको केन्द्रीय कार्यालयमै बैठक गर्न बाटो खुलेको हो। त्यससँगै नयाँ नेतृत्वसहितको कार्यसमितिले शुक्रबार सानेपा पुगेर पदभार सम्हाल्नेछ र त्यसपछि बस्ने बैठकले सभापति थापालाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अघि सार्ने र पार्टीको निर्वाचन घोषणापत्रसहित चुनाव परिचालन समिति बनाउने नेताहरूले दाबी गरेका छन्। पछिल्ला तीन निर्वाचन काठमाडौं–४ बाट निर्वाचित थापा यस पटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।
प्रकाशित: ९ माघ २०८२ ०६:२६ शुक्रबार





