३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

शुक्रबार सानेपामा कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएको छ।

फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको तर्फबाट जनतामाझ लैजाने घोषणापत्रका साथै प्रधानमन्त्रीको उम्मेदवार तय गर्न कांग्रेसले बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। पुसको अन्तिमसाता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनपछि पहिलो पटक बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले सूचना प्रकाशित गरी बैठक बोलाइएको जानकारी गराएका हुन्।

विशेष महाधिवेशनबाट पुस ३० गते गगनकुमार थापा नेतृत्वको कार्यसमिति सर्वसहमतिले चयन भएको थियो। त्यस विषयमा पार्टीको आधिकारिकता विवादका कारण थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपामा गएको छैन।

फागुन २१ गते हुने आम निर्वाचनको टिकट केन्द्रीय कार्यालय बाहिरबाट नै थापा नेतृत्वको कार्यसमितिले वितरण गरेको थियो।

सर्वोच्च अदालतमा पार्टी आधिकारिताको मुद्दा विचाराधिन रहेपनि निर्वतमान सभापति शेरबहादुर देउवाको पक्षमा अन्तरिम आदेश नदिएपछि थापा नेतृत्वको नयाँ कार्यसमिति सानेपामा रहेको केन्द्रीय कार्यालयमै बैठक गर्न बाटो खुलेको छ।

त्यससँगै नयाँ नेतृत्वसहितको कार्यसमिति शुक्रबार सानेपा पुगेर पदभार सम्हाल्ने छ। र, त्यसपछि बस्ने बैठकले सभापति थापालाई निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा अघि सार्ने र पार्टीको निर्वाचन घोषणापत्रसहित चुनाव परिचालन समिति बनाउने नेताहरूले दाबी गरेका छन्।

पछिल्ला तीन निर्वाचन काठमाडौं–४ बाट निर्वाचित थापा यस पटक सलार्ही–४ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: ८ माघ २०८२ १९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App