कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। बुधवार मन्त्रिपरिषद् बैठक बस्नुअघि कांग्रेस सांसदहरूले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री यामलाल कँडेलले निर्देशनालयहरू तथा तालिम केन्द्रहरू खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।
प्रदेश सरकारले कृषि विकास निर्देशनालय, पशुपंक्षी विकास निर्देशनालय, कृषि तालिम केन्द्रलगायतका कार्यालयहरू खारेज गर्ने निर्णय गरेपछि कांग्रेसबाट सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
कांग्रेसबाट एमाले नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा विजया बुढा सहभागी थिए।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले निर्देशनालयहरूको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरेर प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ। यस्तै प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई जिम्मेवारी तोकेको छ।
प्रकाशित: ३१ असार २०८३ १०:२२ बुधबार





