नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस सूर्य विनायक नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले पार्टी एकताबद्ध बनाउनु नै ठुलो चुनौती रहेको बताए। ‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ,’ उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबै जना सक्रिय हुने समय आएको छ ।’
भक्तपुर कांग्रेसका जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताए।
जिल्ला सहसचिव कृष्ण मुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए। –रासस
प्रकाशित: ३ श्रावण २०८२ १७:०३ शनिबार





