कपिलवस्तु–३ बाट कांग्रेसको एकल सिफारिसमा परेका नेता बिरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्। शनिबार दिउँसो काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।
कनौडियाले मोबाइलमार्फत नागरिकसँग कुरा गर्दै आफू एमालेमा प्रवेश गरिसकेको पुष्टि गरे। कांग्रेसभित्रको आन्तरिक किचलो र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चितता देखिएपछि उनले पार्टी परिवर्तन गरेको स्रोतको दाबी छ।
कांग्रेसबाट दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित कनौडिया गत निर्वाचनमा भने पराजित भएका थिए। पछिल्लो समय कांग्रेसमा विशेष महाधिवेशन मागका क्रममा हस्ताक्षर गरे पनि महाधिवेशनअघि नै उनले हस्ताक्षर फिर्ता लिएका थिए।
कांग्रेस नेताहरूका अनुसार क्षेत्र नम्बर ३ मा अभिषेक प्रताप शाहको टिकट सम्भावना बलियो बन्दै गएपछि कनौडिया एमालेतर्फ आकर्षित भएका हुन्। उक्त क्षेत्रमा एमालेबाट निर्वाचित मंगलप्रसाद गुप्ताले अस्वस्थताका कारण चुनाव नलड्ने घोषणा गरिसकेका छन्।
प्रकाशित: ३ माघ २०८२ १७:३५ शनिबार





