नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद बिस्तारै आरोपप्रत्यारोपमा बदलिएको छ। भदौ २३ र २४ गतेको जेनजी विद्रोहसँगै मौलाउँदै गएको विवाद पार्टीका संस्थापक नेता बिपी कोइरालाको ४४औं स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कांग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्नेभन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कांग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए।
४४औं स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर पक्षले अलगअलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगनकुमार थापा तयार नभए साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कांग्रेसभित्रको विवाद अब निर्णायक मोडमा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधिक रोक्ने र १४औं महाधिवेशनपछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेकका अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ। तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटमलाइन बनाएको छ।
दुवै पक्ष आआफ्नो अडानमा कायमै रहे बिपी स्मृति दिवस एउटै झन्डा र चुनाव चिन्हसहित मनाएका कांग्रेसीहरूले जन्मजयन्ती भने फरक पार्टीसहित मनाउने निश्चितजस्तै छ। त्यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनामा सहभागी भएका कांग्रेसका पाका र अनुभवी नेताहरू मूल कांग्रेसबाट अलग हुने निश्चित प्रयास छ।
जहाँ कांग्रेसका नेताहरू डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विजयकुमार गच्छदारसहितका पूर्वपदाधिकारी र पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ।
कुन्दन काफ्ले, जितजंग बस्नेतसहितका युवा नेताहरूले पनि उनीहरूलाई साथ दिएका छन्।
बिपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रिन रन आयोजना गरेका थिए। त्यहाँ सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका युवा बढी पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउने भने छाडेका छैनन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति थापाले नचाहेसम्म पार्टी एक हुन नसक्ने बताए। कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको बताउँदै उनले भने, ‘बरु मर्न तयार भइन्छ, सम्मानमा सम्झौता गर्न सक्दैनौं।’ पार्टी एकताका लागि जोड दिँदा बार्गेनिङको ट्याग लगाइएको बताउँदै उनले भने, ‘हामी विशेषलाई स्विकार्न तयार छौं। गगनजी नेतृत्वलाई पूर्णता दिन १४औंको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’
कार्यक्रममा नेता शेखर कोइरालाले कांग्रेसभित्र ‘हुकुमी शैली’ हाबी भएको आरोप लगाए। बिनास्पष्टीकरण वडा सभापतिहरूलाई हटाउने कार्य निरंकुश प्रवृत्तिको उदाहरण भएको जनाउँदै उनले भने, ‘त्यो हामी कसैलाई पनि सह्य हुन सक्दैन। किनभने निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो।’
नेता विमलेन्द्र निधिले पनि एकताका लागि राखिएका सामान्य मागसमेत नेतृत्वले अस्वीकार गरे नयाँ राजनीतिक बाटो रोज्नु बाध्यता हुने बताए। नेतृत्वले आवश्यक दूरदर्शिता र परिपक्वता देखाउन नसकेको आरोप लगाउँदै उनले भने, ‘प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता कायम रहेन, प्रजातान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्र एडप्ट गर्नु भनेको यो गर्वको कुरा होइन, प्रतिगमन हो, पश्चगमन हो।’
अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले कांग्रेसको नयाँ कार्यदिशा तय गर्ने दाबी गरे। उनले सभापति गगन थापालाई पार्टी एकताको पहल गर्न आग्रह गर्दै नेतृत्वले साहस र उदारता देखाउनुपर्ने बताए।
नेता डा. शशांक कोइरालाले पार्टी विभाजनको अवस्था आए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान सभापति गगन थापाले लिनुपर्ने बताए। उनले कांग्रेसभित्र बढ्दो अविश्वास, समूहगत प्रतिस्पर्धा र विवादले पार्टीलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
उता ग्रिन रन कार्यक्रममा बोल्दै सभापति थापाले जंगल, जमिनलगायत प्राकृतिक स्रोतसाधनलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्ने जनाउँदै समावेशिताको अवधारणालाई पनि सात दशकअगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागु गराएको बताए। ‘हामी त्यसप्रति पूर्ण प्रतिबद्ध छौं,’ थापाले भने।
प्रकाशित: ७ श्रावण २०८३ ०९:१३ बिहीबार





