२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : नेता-कार्यकर्तामा उत्साह

नियमित वा विशेष महाधिवेशन पक्षधरहरूको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेपछि पार्टीका नेतादेखि कार्यकर्ता तहसम्म उत्साह पैदा गराएको छ। कांग्रेसभित्र चलेको नियमित वा विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसीहरूमा अन्यौलता बढाएको थियो। यति मात्रै हैन, पार्टी विभाजनसम्म हुन सक्ने भन्दै चलेको चर्चाले कार्यकर्ताहरूलाई झनै निराश पारेको थियो। कांग्रेसले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने गरी निर्णय गरेपछि पार्टी विभाजनको खतरा अन्त्य भएको र पार्टी अब सांगठनिक रूपमा थप बलियो बन्ने आशा कांग्रेसीहरूमा जागेको छ।

जेनजी आन्दोलन पश्चात पार्टीप्रति बढेको वितृष्णालाई कम गर्दै पार्टीलाई थप चलायमान बनाउन महाधिवेशन कोशेढुंगा सावित हुने नेताहरूको बुझाइ छ। फलतः आम कांग्रेसी कार्यकर्ताहरूको चाहना बमोजिम प्रतिनिधिसभा निर्वाचन अगावै पुस अन्तिममा महाधिवेशन मिति तय भएको नेताहरूको विश्लेषण छ।  

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले आम कार्यकर्ताको चाहना बमोजिम महाधिवेशनको मिति तय भएको भन्दै यसले पार्टी कार्यकर्ता पंक्तीमा ठूलो उत्साह ल्याएको बताए। ‘आगामी चुनावभन्दा अघि नै नियमित महाधिवेशन होओस् भन्ने आम पार्टी कार्यकर्ताको चाहना थियो, कार्यकर्ताको यो चाहनालाई पार्टीले सम्बोधन गरिदिएको छ,’ गिरीले भने, ‘निर्वाचन अघि महाधिवेशनको मिति तय गरेर कांग्रेसले आम कार्यकर्ताहरूमा ठूलो ऊर्जा दिलाएको छ।’

आम कार्यकर्तामा आएको यो ऊर्जाले पार्टी संगठन बलियो बन्ने र यसको फाइदा आगामी चुनावमा पार्टीलाई हुने गिरीको दाबी छ। ‘पार्टीका साथीहरूमा ऊर्जा भयो भने संगठन बलियो बन्छ,’ गिरीले भने, ‘यसर्थ यो महाधिवेशनले आगामी निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई फाइदा पुग्छ, यसर्थ अब सिंगो पार्टी र पार्टीका नेता तथा कार्यकर्ताहरू महाधिवेशनको कार्यतालिकाका आधारमा अघि बढ्नु नितान्त जरुरी छ।’

अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पनि पार्टी संगठनलाई चलायमान बनाउनका लागि पार्टीले तय गरेको महाधिवेशन महत्वपूर्ण रहेको बताए। अब पार्टीलाई महाधिवेशनको बाटोमा डोर्याएर मुलुकको नेतृत्व गर्ने शक्तिका रूपमा कांग्रेसलाई स्थापित गरिनु पर्ने उनको भनाई छ। ‘पार्टीको महाधिवेशनले पार्टी संगठनलाई चलायमान बनाउँछ,’ चौधरीले भने, ‘पार्टीको ध्यान अब महाधिवेशनमा केन्द्रीत बन्ने छ।’

यसैगरी उनले महाधिवेशन पश्चात आगामी निर्वाचनमा पर्न सक्ने प्रभावका बारेमा पनि  पाटी उत्तिकै गम्भीर बन्नु पर्ने बताए। निर्वाचन अघि पार्टीको महाधिवेशन हुँदा कांग्रेसीहरूमा बेमेल बढ्ने र यसको असर आमनिर्वाचनमा पर्ने गरेको उदाहरण सुनाउँदै चौधरीले यो जोखिमबाट सबै नेताहरू सचेत बन्नु पर्ने बताए। ‘हामीले विगतलाई हेर्यौँ भने पार्टीको महाधिवेशन पश्चात हुने आम निर्वाचनमा रोष प्रकट भएको देखिन्छ, र यसले निर्वाचनमा घाटा पुर्याएको पनि देखिन्छ,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘फलतः अहिले महाधिवेशनमा सुझबुझ पूर्ण तरिकाबाट सिंगो पार्टी र पार्टीका नेताहरू अघि बढ्नु पर्छ।’  

कांग्रेसले महाधिवेशन मिति तय गरेपछि जिल्ला तहमा पनि पार्टीका कार्यकर्ताहरू थप सकृय बन्न थालेका छन्। जिल्ला तहका तल्लो तहका नेता तथा कार्यकर्ताहरूमा महाधिवेशनको तिथिले नयाँ ऊर्जा प्रदान गरेको दाङ कांग्रेसको नेतृत्व बताउँछ। ‘पार्टीको महाधिवेशनले पार्टीको जीवनमा नयाँ रंग भर्ने काम गर्छ, यसले आम कार्यकर्ताहरूमा नयाँ जोश र ऊर्जा थप्छ,’ कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले भने, ‘जसरी पार्टी केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति तय भयो, जिल्लाका तल्लो तहका नेता तथा कार्यकर्ताहरूमा उत्साहको सञ्चार गराएको छ, कार्यकर्तापंक्तीमा ठूलो खुशी ल्याइदिएको छ।’

मुलुकको विद्यमान अवस्थामा पार्टीको महाधिवेशन अपरिहार्य रहेको र कांग्रेसले सुझबुझ पूर्ण तरिकाले महाधिवेशन मिति तय गरेको भन्दै कार्यकर्ताहरू पार्टी संगठन बलियो हुने अपेक्षामा रहेको डाँगीको बुझाइ छ। ‘मुलुकको विद्यमान अवस्थामा पार्टीको महाधिवेशन भएर पार्टी संगठन बजवुत बनोस् भन्ने अपेक्षा आम कार्यकर्ता साथीहरूमा थियो,’ डाँगी भन्छन्, ‘अब महाधिवेशनबाट पार्टीको संगठन थप बलियो बन्ने छ, र वर्तमान अवस्थाको मागलाई सम्बोधन गर्न सक्ने पार्टीका रुपमा कांग्रेस झनै दह्रो बनेर उभिने छ भन्ने आशा कार्यकर्ताहरूमा बढेको छ।’

उनले महाधिवेनको नयाँ कार्यतालिका अनुसार जिल्लामा अधिवेशनको प्रकृया अगाडि बढाइने र त्यसको पुरापुर तयारीमा दाङ कांग्रेस रहेको बताए। ‘केन्द्रीय समितिले तय गरेको महाधिवेशन कार्यतालिका अनुसार केहि कामहरू हामीले झण्डै सक्काइसकेका पनि छौँ,’ सभापति डाँगीले भने, ‘महाधिवेशन कार्यतालिका अनुसार पार्टीका तल्लो तहदेखि जिल्ला तहसम्मका अधिवेशनहरू सम्पन्न गर्नका लागि हामीहरू होमवर्कमा लागि सकेका छौँ।’

पार्टीको महाधिवेशन पश्चात आम निर्वाचनमा हुन सक्ने अन्तरघातको सम्भावित जोखिम न्यूनीकरणका लागि दाङ कांग्रेसले कार्यकर्ताहरूलाई सम्झाइ बुझाइ समेत गरिरहेको छ। आन्तरिक प्रतिष्पर्धाबाट जीत हारको भावना नराखी आम निर्वाचनमा सबै कांग्रेसीहरू एक भएर लाग्ने वातावरण निर्माण गर्नका लागि डाँगीले अपिल गर्दै आएका छन्। ‘पार्टीको महाधिवेशन लगत्तै आम निर्वाचन तय भएको अवस्था छ,यो बेलामा पार्टीको आन्तरिक जीत हारको तुष आम निर्वाचनमा देखिनु हुँदैन भन्ने हो,’ सभापति डाँगीले भने, ‘यो खालको वातावरण निर्माण गर्न कोही साथीहरू पनि लाग्नु हुँदैन भनेर मैले व्यक्तिगत रूपमा भन्दै आएको पनि छु, महाधिवेशनबाट पार्टीलाई थप संगठित बनाउँदै प्रतिनिधिसभा निर्वाचनमा ठूलो शक्तिका रूपमा उभिने सामर्थ्य कांग्रेसले जिल्लामा राख्ने छ, म यसमा विश्वस्त छु।’

प्रकाशित: १६ मंसिर २०८२ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App