१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ। तर प्रतिनिधि चयनको प्रक्रिया, परिणाम सार्वजनिक गर्न भएको ढिलाइ र उम्मेदवार छनोटको शैलीमाथि कांग्रेसभित्रै प्रश्न उठेको छ।

असोज १५ गतेको निर्णय भनिएको विवरण आइतबार मात्रै सार्वजनिक भएपछि प्रतिनिधि छनोट निर्वाचनबाट भएको हो कि शीर्ष नेताहरूको सहमतिमा भएको हो भन्ने बहस चुलिएको छ। निर्वाचन अधिकृत सुर्जन रोकायाको हस्ताक्षर रहेको निर्वाचन परिणाम घोषणा विवरणमा ३४ जना महाधिवेशन प्रतिनिधिको नाम उल्लेख छ। तर प्रतिनिधि चयनमा निर्वाचन भएको स्पष्ट आधार सार्वजनिक नहुँदा सामाजिक सञ्जालमा कांग्रेसका नेता–कार्यकर्ताले नै प्रक्रिया पारदर्शी नभएको भन्दै आलोचना गरेका छन्।

निर्वाचनको नाममा परिणाम घोषणा गर्ने तर मतदाता, मतदान र प्रतिस्पर्धाको प्रक्रियाबारे मौन रहने शैलीले कांग्रेसको आन्तरिक लोकतन्त्रको दाबीमाथि नै प्रश्न खडा गरेको छ। खुला महिला प्रतिनिधिमा रामदेवी खड्का, कान्तिका सेजुवाल, पुन्नकली महतारा र पुष्पा गिरी चयन भएको विवरणमा उल्लेख छ। खुलातर्फ ललितजंग शाही, दिनबन्धु श्रेष्ठ, दीपबहादुर शाही, भक्तबहादुर रोकाया, कर्णबहादुर शाही, दीपक शाही, कार्मा बुढा, अर्जुनसिंह कठायत, लक्ष्मणबहादुर शाही र नन्दप्रसाद चौलागाईं छन्। 

युवा खुलातर्फ सञ्जीव रावल र निराजन उपाध्याय तथा युवा महिलातर्फ प्रज्ञा शाहीको नाम छ। पेशागत विषय विज्ञतर्फ इन्जिनियर विश्वराज काफ्ले चयन भएको विवरणमा उल्लेख छ।

त्यस्तै श्रमिकतर्फ जंगवीर बोहरा, दलित समुदायबाट श्रीकृष्ण कामी, अपाङ्गतातर्फ नरवीर रावत, अल्पसंख्यकतर्फ लालबहादुर जिसी तथा प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ धनबहादुर बस्नेतको नाम छ।

समानुपातिक महिलातर्फ उर्मिला भण्डारी, रम्बा भण्डारी, दिलकुमारी हमाल र नविना केसी तथा खसआर्य पुरुषतर्फ खड्क सेजुवालको नाम उल्लेख छ। दलित महिलातर्फ लक्ष्मी कामी, खसआर्य पुरुषतर्फ राजुसिंह कठायत, डिल्लीबहादुर महत, धनश्याम थापा र हंशराज न्यौपाने तथा मुस्लिमतर्फ रज्जवली मनियार चयन भएको विवरणमा उल्लेख छ।

प्रतिनिधि चयनको यो सूची सार्वजनिक भएसँगै कांग्रेसभित्रको पुरानै रोग फेरि सतहमा आएको छ,कार्यकर्ताको मत कि नेताको मनोमानी? महाधिवेशन प्रतिनिधि पार्टीको केन्द्रीय नीति, नेतृत्व र भविष्य निर्धारण गर्ने महत्वपूर्ण तह हो। त्यही तहमा पुग्ने प्रतिनिधि छनोटको प्रक्रियामाथि नै प्रश्न उठेपछि त्यसले महाधिवेशनको वैधानिकता होइन, पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाउँछ।

कांग्रेसले आफूलाई लोकतन्त्रको पहरेदार पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। तर आफ्नै संगठनभित्र प्रतिनिधि छनोट गर्दा प्रतिस्पर्धा, मतदान र पारदर्शिताको प्रश्न अनुत्तरित रह्यो भने बाहिर लोकतन्त्रको पाठ पढाउने नैतिक आधार कमजोर हुन्छ। लोकतन्त्र भाषणमा होइन, पार्टीभित्र उम्मेदवार छान्ने र मतको सम्मान गर्ने अभ्यासमा देखिनुपर्छ।

अझ विडम्बना त के छ भने प्रतिनिधि चयनको विवरण असोज १५ गतेकै भए पनि सार्वजनिक हुन भने लामो समय लागेको छ। परिणाम सार्वजनिक गर्न भएको ढिलाइको कारणसमेत स्पष्ट छैन। यसले प्रक्रिया पहिल्यै टुंगिएको थियो कि नाम मिलाउने, भागबन्डा गर्ने र सहमति जुटाउने क्रममै समय बित्यो भन्ने प्रश्नलाई थप बल दिएको छ।कांग्रेसको १५औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदै गर्दा जुम्लाबाट जाने प्रतिनिधिको सूची त तयार भयो, तर प्रतिनिधि चयनको प्रक्रियामाथिको विवाद पनि सँगै काठमाडौं पुगेको छ।

महाधिवेशनमा लोकतन्त्रको भाषण गर्ने कांग्रेसले जुम्लामा प्रतिनिधि छनोट गर्दा लोकतन्त्र कति अभ्यास गर्‍यो भन्ने प्रश्नको जवाफ अब नेतृत्वले दिनुपर्ने भएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App