प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचच्करको पासोमा परेको टिप्पणी गरेका छन्। सोमबार (आज) संसद्मा बोल्दै दाहालले यस्तो बताएका हुन्।
'संसद्को सबैभन्दा ठूलो दल कांग्रेस; एकपछि अर्को स्वेच्छाचारिता अगाडि बढाइएका छन्, जसरी अहङ्कार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएका छन्। यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई यसमै समर्पण गरेको जस्तो महसुस मैले गरेको छु,' उनले भने।
यस्तै दाहालले पछिल्लो समय देखिएका विकृति, विसङ्गतिको शृङ्खला हेर्दा प्रधानमन्त्री त्यति चिन्तामा नदेखिएको टिप्पणी पनि गरे। 'हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक-पटक संसद् विघटनका शृङ्खला हेर्दा, प्रतिगमनकारी सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन सकिने आधार यसबीचमा देखिएन,' उनले भने।
प्रकाशित: ३० असार २०८२ १४:३० सोमबार





