२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा पनि सहभागी हुने सम्भावना

महाधिवेशन तालिका ल्याउने, जनतामा जाने र प्रतिनिधिसभा पुनःस्थापन जानेमा खुला रहने

फाइल तस्बिर

नेपाली कांग्रेसले भदौ २३ पछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ। भदौ २४ गते भएको विध्वंसका क्रममा सभापति शेरबहादुर देउवाका साथै केन्द्रीय सदस्य आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो। त्यसपछि सार्वजनिक नभएका कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री देउवा बैठकमा सहभागी हुने तयारीमा रहेको निकट स्रोतको दाबी छ।

भौतिक आक्रमणका कारण गर्धनमा लागेको चोटका कारण देउवाको स्वास्थ्य पुरानो अवस्थामा आइनसकेको जनाउँदै निकट स्रोतले भन्यो, ‘बैठकमा जाने तर लामो समय भने बस्ने अवस्था रहँदैन होला।’ केन्द्रीय समितिको बैठकको सुरुआत गर्दै आफ्ना कुरा राखेर बाहिरिने तयारीमा देउवा छन्। उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकलाई निरन्तरता दिनेछन्। गर्धन र टाउकोमा लागेको चोटका कारण सभापति देउवालाई चक्कर लाग्नेसहितको समस्या रहेको निकट स्रोतको दाबी छ। स्वास्थ्यका कारण पार्टीको नियमित काममा सक्रिय हुने सम्भावना नरहेका जनाउँदै स्रोतले भन्यो, ‘उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर जाने कि काम गर्ने गरी अधिकार प्रत्यायोजन मात्र गर्ने भन्ने टुंगो भइसकेको छैन।’

देउवा चिकित्सकहरूको परामर्शमा थप उपचारका लागि विदेश जाने तयारीमा समेत छन्। ‘स्वास्थ्यमा समस्या आइरहे र चिकित्सकहरूले विदेश जान सल्लाह दिए जान सक्ने वा जानुपर्ने हुन सक्छ,’ निकट स्रोतले भन्यो, ‘टुंगो भने लागिसकेको छैन।’ पार्टी विधानको व्यवस्थाअनुसार पनि पुनः सभापतिको प्रत्यासी बन्न नपाउने देउवाले भदौ २३ गतेअघि नै पार्टी नेतृत्व छाड्ने घोषणा गरिसकेका छन्। बदलिएको राजनीतिक अवस्थामा देउवालाई तत्काल पार्टी नेतृत्व छाड्न दबाब परिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। देशभरि अभियान चलाएर उनीहरूले मंगलबार नै त्यसका लागि हस्ताक्षर दर्ता गराउने तयारीमा छन्। कांग्रेस विधानमा केन्द्रीय समितिले चाहे वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।

नेता शेखर कोइरालासहितका नेताहरू १४औं महाधिवेशन भएको आगामी मंसिरमा चार वर्ष पुग्ने भएकाले नियमित महाधिवेशनको पक्षमा छन्। पार्टीका पदाधिकारीहरूले महाधिवेशनको तयारीमा ध्यान नदिएको र अहिले विशेष महाधिवेशनको कुरा गर्दै हिँडेको बताउँदै महामन्त्रीहरूको आलोचना गर्दै आएका छन्। जिल्लामा सभापतिहरूसहित तल्लो तहका नेताहरू कार्यकाल सकिन लागेको महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन नभई छोटो बाटोबाट महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

सभापति देउवानिकट नेताहरू मंसिरभित्र महाधिवेशन सम्भव नरहेको जनाउँदै आएका छन्। नियमित महाधिवेशनको पक्षमा रहेका उनीहरू सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेकाले त्यसको तयारीमा लाग्नुपर्ने पक्षमा छन्। निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन्। कांग्रेसभित्र महाधिवेशनका विषयमा तीनलाई देखिएपछि सभापति देउवाकै निर्देशनअनुसार साझा धारणा बनाउन पदाधिकारी, पूर्वपदाधिकारीका साथै कार्यसम्पादन समितिका सदस्यहरूको परामर्श बैठक बसेको थियो। 

देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने गरी साझा मत र मन बनाउन उनीहरूलाई उपसभापति खड्कामार्फत सन्देश पठाएका थिए। तर लामो छलफलका क्रममा पनि कांग्रेसका नेताहरूले साझा एजेन्डा तय गर्न सकेका छैनन्। बैठकमा पार्टीको १५औं महाधिवेशनका विषयमा एजेन्डा जानेछ। सोहीअनुसार केन्द्रीय सदस्यहरूको रायअनुसार महाधिवेशनको कार्यतालिका आउने निकट नेताहरूको दाबी छ। कार्की नेतृत्वको सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा कांग्रेसले आफूहरू जनतामा जान तयार रहेको सन्देश दिनेछ। तर त्यसका लागि वातावरण नभएको जनाउँदै प्रतिनिधिसभा पुन:स्थापनको मुद्दालाई पनि खुला राख्ने नेताहरूको दाबी छ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको नेता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २८ आश्विन २०८२ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App