१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस कपिलवस्तु-१ का उम्मेदवार कमालले सार्वजनिक गरे भिजन ७ संकल्प

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमालले सङ्कल्पपत्र (भिजन सेवन) सार्वजनिक गरेका छन्। कांग्रेसले ल्याएको भिजन टेनलाई आधार बनाएर कपिलवस्तु–१ मा कमालले भिजन सेवन सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्।

सङ्कल्पपत्र (भिजन सेवन) मा शिक्षा, दिगो पूर्वाधार, खेल–सिप अवसर र युवा, कृषि तथा सिँचाइ, सामाजिक सशक्तिकरण, सद्भाव र सुशासन, व्यवसाय प्रवर्द्धन गरी सात वटा भिजन राखेर सार्वजनिक गरिएको हो।

शिक्षा तर्फ बाणगंगामा जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युटको कार्य सुचारु गर्ने, वन विज्ञान अध्ययन संस्थान स्थापना गर्ने, अम्बेडकर समतामूलक शिक्षालय स्थापना गर्ने लगायतका कार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

यसैगरी पूर्वाधार तर्फ कपिलवस्तु विकास कोष गठनका लागि पहल गर्ने, सडक पूर्वाधारहरूको निर्माण गर्ने, तीन पालिकामा व्यवस्थित बसपार्क निर्माण गर्ने र आदिवासी जनजाति सङ्ग्रहालय स्थापना गर्ने जनाइएको छ।

त्यसैगरी खेलकुद र युवा तर्फ रङ्गशाला र खेल मैदान निर्माण गर्ने, युवा स्टार्टअप कोष निर्माण गर्न नीतिगत पहल गर्ने, युवा स्वरोजगारका लागि सिप प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

कृषि तर्फ सिँचाइ पूर्वाधार निर्माण गर्ने, छाडा तथा जङ्गली जनावरको व्यवस्थापन र क्षतिपूर्तिको सुनिश्चितता गर्ने, भूमिहीन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने, दूध सङ्कलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय गर्ने र पशु पकेट क्षेत्रको रूपमा विकास गर्ने कार्यक्रम सञ्चालनमा पहल गर्ने प्रतिबद्धता उल्लेख छ।

सामाजिक सशक्तिकरण तर्फ युवा र महिलाको आर्थिक सशक्तिकरण, दुर्व्यसनमुक्त समाज निर्माणमा पहल, सहकारी प्रवर्द्धन, थारु तथा अवधी भाषा संरक्षण गर्दै स्थानीय पाठ्यक्रममा समावेश गर्न पहलकदमी, थारु पर्यटन प्रवर्द्धन केन्द्रको विकास गर्ने, दलित, मधेसी, मुस्लिम, जनजाति, गरिब र विपन्न युवालाई प्राविधिक तथा उद्यमशीलतासँग जोडेर स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख छ।

सद्भाव र सुशासनका लागि शान्ति र सहकार्यको वातावरण निर्माण गर्ने, सदनमा उठाउने मुद्दा संवादमार्फत तय गर्ने, मासिक रिपोर्ट कार्ड प्रस्तुत गर्ने, नागरिक सहभागितामूलक बजेट विनियोजन गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने प्रतिबद्धता जनाइएको छ।

व्यवसाय प्रवर्द्धन तर्फ व्यापार सहजीकरण र व्यापारमैत्री नीति निर्माण गर्ने, चाकरचौडा भन्सारमा सवारी आवागमन खोल्न भन्सार सुविधाका लागि नीतिगत पहल गर्ने, यातायात व्यवस्था सेवा कार्यालयमा लाइसेन्स र सवारी नामसारी सेवा विस्तारका लागि पहल गर्ने उल्लेख छ।

प्रस्तुत गरिएको सङ्कल्पपत्रमा नीतिगत र कार्यक्रमगत दुवै विषयलाई प्राथमिकता दिइएको देखिएको छ। उम्मेदवार कमालले आफूले पूरा गर्न सक्ने र पूरा गर्ने विषयहरू मात्रै राखिएको बताए।

‘हामीले पूरा गर्न सक्ने मात्रै विषयहरू सङ्कल्पपत्रमार्फत प्रस्तुत गरेका छौं, सङ्कल्पपत्रको कार्यान्वयनमा पूर्ण प्रतिबद्ध छौं,’ उनले भने, ‘सङ्कल्पपत्रको कार्यान्वयनबारे आम मतदाता र नागरिकलाई नियमित सूचित गर्नेछौं।’

भिजन टेनलाई आधार बनाई क्षेत्रमा समेत भिजन सेवनको सङ्कल्पपत्र ल्याइएको उनले बताए। पार्टीले सङ्कल्पपत्रका प्रत्येक विषयलाई कार्यान्वयनमा प्राथमिकता दिने जनाउँदै सबैलाई एकबद्ध भएर प्रचारप्रसारमा खटिन नेपाली कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्ति सिंह ठकुरीले आग्रह गरे।

प्रकाशित: ११ फाल्गुन २०८२ २१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App