निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दृष्टिविहीन, शारीरिक अशक्तता भएका तथा स्वयं मतसंकेत गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गर्ने भएको छ।
आयोगका अनुसार दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अन्य कारणले आफैं मतसंकेत गर्न नसक्ने मतदाताले एकाघरको परिवारका सदस्यलाई साथमा लिएर मतसंकेत गर्ने गोप्य स्थानसम्म जान मतदान अधिकृतसँग अनुमति माग्नुपर्ने जनाएको छ । मतदान अधिकृतलाई उक्त अनुरोध उपयुक्त लागेमा अनुमति दिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, यदि मतदाताले परिवारका सदस्यको सट्टा मतदान अधिकृतको सहयोग चाहेको अवस्थामा र सो अनुरोध उपयुक्त ठहरिएमा, मतदान अधिकृतले मतदाताको इच्छाअनुसार मतसंकेत गर्ने कार्यमा आवश्यक सहयोग गर्नुपर्ने प्रावधान राखिएको छ।
आयोगले सबै मतदातालाई सहज, सुरक्षित र गोप्य रूपमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ १६:२४ बुधबार





