२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बैंक खातामा मात्रै चुनावी खर्च गर्न आयोगको निर्देशन

 निर्वाचन आयोग नेपाल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ। 

आयोगले बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको हो। 

आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन बैंक खातामार्फत मात्रै खर्च गर्न निर्देशन दिदाँ हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन्। 

खाता सञ्चालन गर्ने दलहरूमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।  

यता नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका केही ठूला दलहरूले भने हालसम्म बैंक खाता सञ्चालनमा नल्याएको आयोगले जनाएको छ। 

आयोगका अनुसार २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको दफा १६ मा उम्मेदवारहरूले उम्मेदवारी दर्ताका क्रममा अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने प्रावधान छ। 

त्यसैगरी, उम्मेदवारहरूले निर्वाचन खर्च सञ्चालनका लागि बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको रकम र खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।   

प्रकाशित: १३ फाल्गुन २०८२ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App