२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मतमार्फत सरकारको निरन्तरता खोज्ने निर्णय गरेका हुन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार ललितपुरमा बसेको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिने निर्णय गर्दै सरकारलाई आवश्यक समर्थन जुटाउन अन्य राजनीतिक दलसँग संवाद र समन्वय अघि बढाउने जिम्मेवारी पनि दिएको छ।

संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारको निरन्तरताका लागि अन्य दलसँग लिखित तथा मौखिक संवाद अघि बढाइनेछ।

बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग सहकार्य र सहमतिको वातावरण निर्माण गरी सरकारलाई आवश्यक समर्थन जुटाउने प्रयास गर्ने निर्णय पनि गरेको छ।  

त्यसैगरी बैठकले नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकमा उनको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।  

साथै, सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कांग्रेस संसदीय दलले थप हिंसा हुन नदिन तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य, संयम र संवादको बाटो अपनाउन आग्रह गरेको छ।

बैठकले बागमती प्रदेश सरकारलाई पनि संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेशभित्र शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ।

बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, रामकृष्ण चित्रकारसहित नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १४ श्रावण २०८३ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App