लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारा क्षेत्रमा पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
अविरल वर्षासँगै गएको पहिरोमा परी मानवीय क्षति भएपछि मुख्यमन्त्री आचार्यले सम्पूर्ण संयन्त्रलाई उद्धारमा जुट्न आग्रह गरेका हुन्।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएको बताएका छन्।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भइसकेको र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलमै पुगेर समन्वय गरिरहेको उनले जानकारी दिए।
पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री आचार्यले प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई समन्वय गर्न आग्रह गरेका छन्।
उद्धार कार्य सम्पन्न भएलगत्तै पीडित परिवारको पुनर्स्थापना र राहतका कार्यक्रम अघि बढाइने उनको भनाइ छ। साथै, प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन पनि उनले अपिल गरेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ १९:४६ बिहीबार





