२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रोल्पा पहिरो: बेपत्ताको खोजी, राहत र निःशुल्क उपचार गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै उद्धार र राहतमा तीव्रता दिन माग गरेका हुन्।

रोल्पाको थवाङ गाउँपालिका-५, कोतलाबाङमा बुधबार राति गएको पहिरोमा परी १० जना नागरिकको निधन भएको छ भने ३ जना बेपत्ता भएका छन्। रास्वपाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ।

विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त ध्यान नपुग्दा बर्सेनी नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै विज्ञप्तिमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न आग्रह गरिएको छ।

विपद् आइसकेपछि मात्रै राज्य संयन्त्र तात्ने परम्परागत र फितलो कार्यशैली सच्याउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ।

अविरल वर्षाका कारण देशभरको जनजीवन र सडक सञ्जाल प्रभावित भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरिएको छ।

साथै, विपद्पछिको उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन रास्वपाले आफ्ना पार्टी पङ्क्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।

प्रकाशित: २८ श्रावण २०८३ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App