नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषयले प्रमुखता पाएको छ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति दल विशेषमा आबद्ध हुँदा त्यसले प्रणाली र संविधानको भावनामा पार्ने असरबारे गम्भीर राजनीतिक निर्णय लिनुपर्नेमा जोड दिएका छन्।
बैठकको दोस्रो दिनको प्रगतिबारे जानकारी दिँदै पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र राजनीतिमा फर्कने विषयमा अधिकांश सदस्यले आफ्नो धारणा राखेको बताए।
“राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक मात्र होइन, यो महत्त्वपूर्ण राजनीतिक विषय हो,” गौतमले सदस्यहरूको भावना उद्धृत गर्दै भने, “यसले भोलि जनतामा, प्रणालीमा र व्यवस्थामा के प्रभाव पार्छ ? संविधानको भावनाअनुसार कस्तो नजिर र अभ्यास स्थापित हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको छ।”
सदस्यहरूले संविधानको धारा ६१ मा राष्ट्रपतिलाई ‘राष्ट्राध्यक्ष’ र ‘राष्ट्रिय एकताको प्रतीक’ तथा संविधानको ‘पालक र संरक्षक’ का रूपमा परिभाषित गरिएको भन्दै यस्तो सम्मानित पदमा बसेको व्यक्ति पुनः दलीय राजनीतिमा फर्कनु उचित नहुने तर्क गरेका थिए।
यस विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले बैठकको समापनमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको गौतमले बताए।
भण्डारीको राजनीतिक भविष्यबारेको बहसका अतिरिक्त बैठकमा सांगठनिक विषय र सरकारको कामकारबाहीबारे पनि छलफल भएको छ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार, पार्टीको सदस्यता १ लाख ३९ हजारले वृद्धि भएको रिपोर्टिङ आएको छ। जुन करिब २८ प्रतिशतको वृद्धि हो।
यसैगरी, सदस्यहरूले संविधानअनुकूल हुने गरी निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूलाई कार्यकारी अधिकारसहितको कमिटी बनाउनुपर्नेमा जोड दिएका छन्।
बैठकमा केन्द्रीय सदस्यहरूले सरकारको प्रभावकारिता बढाउनुपर्ने र बढ्दो मूल्यवृद्धिलगायतका जनजीविकाका सवालमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका थिए।
एमालेको नवौँ केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी छ। दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेका छन् भने पहिलो दिन ४९ जनाले बोलेका थिए।
अब ७७ जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको र आजै बैठक सम्पन्न गर्ने तयारी रहेको गौतमले जानकारी दिए।
प्रकाशित: ६ श्रावण २०८२ १६:३६ मंगलबार





