२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

मदन-आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन एमालेका कमिटीलाई केन्द्रको सर्कुलर

नेकपा एमालेले नेपाली कम्युनिष्टका नवीन विचारक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको जेठ ३ गते मनाइने स्मृति दिवस प्रभावकारी रूपमा मनाउन पार्टी केन्द्रले प्रदेश र जिल्ला कमिटीहरूलाई सर्कुलर पठाएको छ। महासचिव शंकर पोखरेलले एक सर्कुलर पठाउँदै पार्टी विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा कार्यक्रम बनाउन विभिन्न जनसंगठनहरूलाई पनि तोकेरै निर्देशन पठाएका छन्।

पार्टी केन्द्रीय कार्यलयबाट प्राप्त जानकारी अनुसार काठमाडौंमा मदन नगर बल्खुमा कार्यक्रम आयोजना जेठ ३ गते बिहान ७:४५ बजे कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा पार्टी केन्द्र, उपत्यका मातहतका कमिटी, जनसंगठनका काठमाडौंमा उपलब्ध सम्पूर्ण कार्यकर्तालाई अनिवार्य उपस्थित हुने भनिएको छ।

प्रदेश तथा जिल्लामा मदन आश्रितका योगदानको चर्चा गर्ने, विचार गोष्ठी गर्ने, सञ्चार माध्यमहरूमा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेले निर्देशन पठाएको छ। यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र  मदन आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिएको छ।

महासचिव पोखरेलले पठाएको सर्कुलरमा उल्लेख भए अनुसार अनेरास्ववियूलाई हरेक माध्यमिक विद्यालय परिसर बाहिर मदन आश्रितलाई चिनाउने फोटो प्रदर्शनी, पर्चा र पम्पलेट प्रदर्शन गर्न भनिएको छ। युवा संघलाई हरेक पालिकामा मार्च पास गर्न भनिएको छ। अनेम संघलाई हरेक घरका ज्येष्ठ महिलालाई भेट्न निर्देशन गरिएको छ। 

अखिल नेपाल किसान संघका कार्यकर्ताले आफ्नो बारी वा सार्वजनिक स्थलमा फलफूलका दुईवटा विरुवा रोप्न भनिएको छ। जिफन्ट र भूमि अधिकार तथा श्रमिक संगठनले उपत्यका बाहिरका अव्यवस्थित बसोबासी,  सुकुम्बासी र भूपू सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा समन्वय गरी विस्थापित सुकुम्बासीहरूलाई भेटी उनीहरूको अवस्था बुझ्न निर्देशन दिएको छ।

कार्यक्रमका सबै गतिविधि सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा प्रचारप्रसार गर्न पनि सर्कुलरमा निर्देशन गरिएको छ। सर्कुलरमा आफूले गरेको कार्यक्रमको संक्षिप्त प्रतिवेदन जिल्ला कमिटी मार्फत केन्द्रीय कार्यलयमा पठाउन भनिएको छ।

प्रकाशित: २८ वैशाख २०८३ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App