राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राजनीतिक नेतृत्वको संरक्षण र संलग्नताबिना भ्रष्टाचारका काण्डहरू सम्भव नै नभएको बताउँदै आयोगको ध्यानाकर्षण गराउन अख्तियारको केन्द्रीय कार्यालयमा जाँदै गरेको बताएका छन्।
भ्रष्टाचारका सबै काण्डहरूको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन राप्रपा आज टंगाल पुग्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउँसो १ बजे अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने उनले बताए।
राजनीतिक नेतृत्वको संरक्षण र संलग्नताबिना भ्रष्टाचारका ठुला ठुला काण्डहरू सम्भव नै छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौँ। राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित आयोग समक्ष ज्ञापन पत्र पेस गर्ने छ।’
असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्ने श्रेष्ठले बताए।
प्रकाशित: २ श्रावण २०८२ ०८:०७ शुक्रबार





