आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको विवरण बुझाएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा उम्मेदवारले निर्वाचनका लागि अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।
सोही अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका उम्मेदवारले खर्चको विवरण नयाँ खाता खोलेर निर्वाचन आयोगको कार्यालयमा बुझाएका हुन्।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।
उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ।
कालीकोटका दश जना उम्मेदवारले निर्वाचन प्रतिस्पर्धामा रहेका छन्। जसमा अजबहादुर गिरी राष्ट्रिय जनमोर्चा, अस्मिनबहादुर विष्ट स्वतन्त्र, खड्गबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नन्दबहादुर शाही नेपाल मजदुर किसान पार्टी, प्रकाश न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी, महेन्द्रबहादुर शाही नेपाली कम्युनिष्ट पार्टी, मानबहादुर तिरुवा स्वतन्त्र, नगेन्द्र शाही नेकपा एमाले, सूर्यबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी, हर्षबहादुर बम नेपाली कांग्रेस लगायतका उम्मेदवारहरुले निर्वाचनमा १ लाख ५० हजारदेखि २६ लाख ५० हजारसम्म खर्च गर्ने गरी विवरण निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष नियन्त्रक टंकबहादुर थापाले बताए।
निर्वाचन आयोगले हिमाली जिल्ला कालीकोटसहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको छ। आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था छ।
प्रकाशित: १ फाल्गुन २०८२ ०९:१४ शुक्रबार





