प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन्। बजेटमाथि सामान्य छलफलको कार्यसूचीसहित सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध गरेका हुन्।
बैठकको सुरु मै समय मागेर बोल्दै कांग्रेस, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्री शाहको भनाइलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलको उक्त मागलाई बेवास्ता गर्दै कार्यसूचीमा प्रवेश गराउन खोजेपछि सांसदहरु विरोधमा उत्रिएका हुन्।
सभामुख अर्यालले बारम्बार बसेर सदनको कामकारवाही अघि बढाउन आग्रह गरेपनि प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउनु पर्ने अडान लिएका छन्।
बारम्बारको आग्रहपछि पनि बैठक सञ्चालन हुन नसकेपछि सभामुख अर्यालले १५ मिनेटका लागि स्थगित गरेका छन्।
प्रकाशित: १८ जेष्ठ २०८३ १४:५३ सोमबार





