नेकपा एमाले संगठन विभागका सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी किटान गरेर पार्टीमा ल्याउन सुझाव दिएका छन्।
भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने भन्दै लिखित प्रस्ताव नै पेस गरेर उनले यस्तो सुझाव दिएका हुन्। ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीलाई विवादित बनाएर सकृय राजनीतिमा नल्याउन आग्रह गर्दै ल्याउनै परे सर्वसम्मत ढंगले जिम्मेवारी समेत किटान गरेर मात्र ल्याउनु सुझाव दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो।
यस्ता छन् उनका सुझाव
क. केन्द्रीय सचिवालयको २ दिन, १८/२० घण्टा सघन छलफल गरेर एकताबद्ध प्रस्तावसहित केन्द्रीय कमिटीमा पार्टी अध्यक्षद्वारा प्रस्तुत विशेष प्रस्ताव प्रति समर्थन जनाउन चाहान्छु। समाज र आम कार्यकर्ता पंक्तिले खोजेको पार्टी भित्रको जिउँदो एकताको यात्रा अब आरम्भ हुने विश्वास व्यक्त गर्न चाहन्छु।
ख. विगतमा पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न अभियानको वारेमा स्मरण गराउन चाहन्छ। ग्रासरूट अभियान, जरा अभियान, झुलाघाट चिया भन्ज्याङ अभियान, युवा सम्मेलन, एक बडा-१० युवाको खोजी, पार्टी सदस्यको अनलाईन अभिलेखिकरण। यी अभियानहरुको उद्देश्य के थिए ? र हामीले यो अभियानलाई कति सार्थक बनाउन भुमिका खेल्यौं ? एक पटक समिक्षा गर्नु पर्दछ।
ग. भाद्र २३ र २४ को घटनाको निर्मम समिक्षा - बाह्य शक्तिको आक्रमण जिम्मा लिने कोही छैन, देशभित्र जित्ने कोहि छैन। सुरक्षा अंगको भुमिका संसयपुर्ण। आक्रमण हामी माथि हो । वालेन, रवि, प्रचण्ड र दुर्गा प्रछाईहरु सबै यो आन्दोलनमा हारेका हुन। कांग्रेश र हामी माथिको आक्रमण देखियो। जित्यो को त?
घ. नेतृत्व परिवर्तन अहिलेको वहसको विषय हुनु हुदैन। विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो जो मिति प्रस्ताव नै भईसकेको छ । सम्पूर्ण आन्तरिक समस्याको समाधानको थालो हामीले त्यसैलाई मान्नु पर्दछ।
ङ. नेतृत्व विकासको नयाँ अवधारणा चाहि दिन सक्नु पर्दछ। पुस्ता अनुसारको नेतृत्व विकासको अवधारणा वनाउने र बहालवाला केन्द्रीय नेतृत्वबाट ६०% र नयाँ तथा युवाबाट ४०% आयात गर्ने अवधारणा सार्वजनिक गरिनु पर्दछ। केन्द्र देखि तल्लो तहसम्म यहि प्रणाली अपनाउनुपर्छ।
च. वलियो निर्णायक शक्ति निर्माणको नेतृत्व हामीले गर्नु पर्दछ। यसका लागि संविधान र लोकतन्त्रका रक्षकहरुलाई सहकार्यका लागि आवह्वान गर्ने र सम्वादका लागि एउटा आन्दोलनका लागि सहकार्य तथा सम्वाद कार्यदल बनाएर घोषणा गर्न उपयुक्त हुन्छ।
छ पुस्ता अनुसारका मुद्दाहरु हुन्छन उनीहरुलाई व्यस्त वनाउन शहरका विभिन्न चोकहरुमा साँझ कन्सर्टहरुको आयोजना गर्नु पर्दछ ।
ज. पूर्व राष्ट्रपति विद्या भण्डारीलाई विवादित वनाएर सकृय राजनितिमा ल्याउनु हुदैन। ल्याउनै परे सर्बसम्मत ढंगले जिम्मेवारी समेत किटान गरेर मात्र ल्याउनु पर्दछ।
प्रकाशित: ३० आश्विन २०८२ १६:१५ बिहीबार



