सरकारले विधेयक तथा अन्य कार्यसूची (बिजनेस) उपलब्ध गराउन नसकेपछि संघीय संसद्का दुवै सदनका बैठक दुई साताका लागि स्थगित भएका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार बसेको बैठक साउनको दोस्रो साता बस्ने गरी स्थगित भएका हुन्।
प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी गराए। बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्मा पर्याप्त बिजनेस नरहेको निष्कर्ष निकाल्दै दुई साताका लागि बैठक स्थगित गर्ने सहमति भएको थियो।
कार्यव्यवस्था परामर्श समितिमा सभामुख अर्यालले सरकारबाट कुनै नयाँ विधेयक वा निर्णयार्थ पेस गर्नुपर्ने विषय नआएकाले बैठक सञ्चालनका लागि आवश्यक कार्यसूची नभएको जानकारी गराएका थिए। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरू बैठक स्थगित गर्न सहमत भएका थिए।
यता राष्ट्रिय सभाको बैठक पनि बुधबार नै स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन १५ गते बस्ने जानकारी गराए। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्। अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि सभालाई जानकारी गराएका थिए।
दुवै सदनमा सीमित कार्यसूची मात्र रहेपछि थप छलफल वा विधेयकमाथिको प्रक्रिया अघि बढ्न सकेन। त्यसपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले करिब दुई साताका लागि बैठक स्थगित गरेका हुन्।
संसद्को वर्षे अधिवेशन चलिरहेका बेला लगातार बिजनेस अभाव देखिनु सरकारको विधेयक व्यवस्थापन र संसदीय कार्यसम्पादनमाथि प्रश्न उठ्ने विषय बनेको छ। विपक्षी दलहरूले यसअघि पनि सरकारले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्यसूची दिन नसकेको भन्दै आलोचना गर्दै आएका छन्। अब साउनको दोस्रो सातापछि बस्ने बैठकमा सरकारले नयाँ विधेयक तथा अन्य संसदीय कार्यसूची ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ असार २०८३ १९:११ बुधबार




-600x400.jpg)
