२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको वैकल्पिक प्रस्ताव: राष्ट्रिय संकल्प सम्मेलन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गरेकै कारण पार्टी नफुट्ने बताएका छन्। शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टीको विधान कार्यान्वयन गर्दा पार्टी नफुट्ने दाबी गरेका हुन्।

‘नेपाली कांग्रेस पार्टी फुट्दैन एक ढिक्का रहन्छ। कसैलाई आशंका छ भने आशंका नराखे हुन्छ,’ शर्माले भने। 

वर्तमान परिस्थितिमा कांग्रेसले नीति तथा नेतृत्व परिवर्तन गरेरै जानुपर्ने अवस्था भएको बताउँदै त्यसका लागि नियमित महाधिवेशनको मिति तोकिएको उनले स्मरण गरे। ‘तर त्यो मितिमा मात्रै सीमित भयो। त्यसैले दुई महामन्त्रीले त्यसलाई स्थगन ग¥यौँ,’ उनले भने, ‘तर विकल्प के भन्दा विशेष महाधिवेशन हो भनेर भनेका हौँ।’ 

त्यसबारे आफू केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा दुई वटा प्रस्ताव राख्ने बताए। उनले भने, ‘पहिलो केन्द्रीय कार्यसमितिले आफै बोलाएर २६ गते बिहान उद्घाटन शत्र गरेर नेपाली कांग्रेस अहिलेको अवस्थालाई कसरी हेर्छ? आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोण के हुन सक्दछन्? जेन–जीले ल्याएको सुशासनको मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ? अबको दशकमा कांग्रेसले देशलाई कस्तो लिएर जान सक्छ? भन्ने कुराहरू पारित गरेर जान सकिन्छ।’ त्यसपछि सोही दिन मनोनयन गर्दा गरेर दोस्रो दिन नयाँ नेतृत्व चयन गरेर जान सकिने उनले बताए।

‘यसो हुँदा नीतिको कुरा पनि बन्छ, नेतृत्व परिवर्तनको कुरा पनि आउँछ,’ महामन्त्री शर्माले भने। 

तर अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गरेर जान नसकिने भए पनि अर्को मोडालिटीमा जान सकिने उनले बताए। ‘यदि नेतृत्व परिवर्तन गरेर जान सकिन्न भन्ने हो भने पनि पार्टी फुटाउने कुरा हुन्न,’ उनले भने, ‘नेपाली कांग्रेसले त्यस्तो अवस्थामा देशका सामुन्ने एक ढिक्का भएर एउटा संकल्पका लागि राष्ट्रिय संकल्प सम्मेलन, विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ।’ 

यस्तो विषय संस्थागत ढंगले पार्टी केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठकले निर्णय गरेर जान सकिने उनले बताए। 

प्रकाशित: १८ पुस २०८२ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App