नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने नभए दुवै जना महामन्त्री विशेष महाधिवेशन बोलाउन लाग्ने बताएका छन्। बुधबार सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
‘पार्टीको १५ औँ महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘नसकिए एक मात्र विकल्प विशेष महाधिवेशन हो।’
विधानको धारा १७(२) बमोजिम केन्द्रीय समितिले चाहेमा महाधिवेशन बोलाउन सकिने प्रक्रियामा आफू र अर्का महामन्त्री गगन थापा लाग्ने उनले बताए। ‘त्यो हाम्रो जिम्मेवारी हो,’ उनले भने।
तर केन्द्रीय समितिले मंसिरमै महाधिवेशन नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुलाई अन्यथा लिन नमिल्ने महामन्त्री शर्माले बताए। उनले भने, ‘त्यसलाई कसैले पनि नकारात्मक रूपमा लिन मिल्दैन। माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नै पर्छ।’
प्रकाशित: ८ आश्विन २०८२ १९:०१ बुधबार





