सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद थप भएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार तेस्रोपटक म्याद थपको आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति पौडेललाई अदालतमा पेस गरेको थियो।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेल हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा छन्। उनलाई विशेष अदालतले यसअघि थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक सात दिन र दोस्रोपटक असार १५ गते तीन दिनको म्याद दिएको थियो।
पौडेलमाथि श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर अनुचित लाभ लिएको आरोप छ।
उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ। यो सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परी अनुसन्धानकै क्रममा रहेका व्यवसायी दीपक भट्टको स्वामित्वमा छ।
भट्टको सम्पत्ति तथा शंकास्पद सेयर कारोबारमा पौडेल जोडिएपछि विभागले उनीमाथि छानबिन अघि बढाएको हो।
प्रकाशित: १८ असार २०८३ १५:४३ बिहीबार





