फिफा विश्वकप २०२६को अन्तिम १६ अन्तर्गत सोमबार इंल्याण्ड र मेक्सिको प्रतिस्पर्धा गर्दैछन्।
एज्टेका स्टेडियममा हुन लागेको यो ब्लकबस्टर भिडन्त नेपाली समयअनुसार सोमबार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।
मेक्सिकोले ४० वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो। इक्वेडरलाई २–० ले हराएपछि मेक्सिकोभरि उत्सवको माहोल बनेको थियो।
सन् १९८६ को विश्वकपमा यही मैदानमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोलका कारण इंल्याण्ड बाहिरिएको थियो। त्यसैले यो मैदानसँग इंल्याण्डका समर्थकको विशेष सम्झना जोडिएको छ।
दुवै टोलीको यात्रा
मेक्सिकोले समूह ‘ए’ मा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक गणतन्त्रलाई पराजित गर्दै नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराउँदै १९८६ यता पहिलो पटक विश्वकपको नकआउट खेल जित्न सफल भयो।
इंल्याण्डले भने समूह ‘एल’ मा सात अंकसहित शीर्ष स्थानमा रहँदै क्रोएसिया र पानामालाई हरायो भने घानासँग गोलरहित बराबरी खेल्यो। नकआउट चरणमा उसले प्रजातान्त्रिक गणतन्त्र कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
एज्टेकाको चुनौती
समुद्री सतहबाट करिब २,२४० मिटर उचाइमा रहेको एज्टेका स्टेडियममा खेल्नु कुनै पनि टोलीका लागि चुनौतीपूर्ण मानिन्छ।
उच्च उचाइका कारण खेलाडीलाई सास फेर्न कठिन हुन सक्छ भने बल पनि सामान्यभन्दा छिटो र टाढासम्म जाने गर्छ। घरेलु समर्थकको ठूलो उपस्थितिले मेक्सिकोलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।
इंल्याण्डले पनि १९७० र १९८६ को विश्वकप फाइनलको स्थल एज्टेकामा खेल्ने मौका पाउँदा खुसी मनाएको छ।
इंल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले एज्टेकामा खेल्न पाउनु विशेष अवसर भएको बताए। ‘हामी विश्व फुटबलको प्रतिष्ठित मैदानमा खेल्न लागेका छौं। यहाँको वातावरण र समर्थकको उत्साहले खेलाडीलाई विशेष अनुभूति गराउँछ’, उनले भने।
मेक्सिकोका प्रशिक्षक जेभियर अगुइरेले इंल्याण्ड बलियो टोली भए पनि आफ्नो टोली चुनौतीका लागि तयार रहेको बताए।
‘इंल्याण्डसँग विश्वस्तरीय खेलाडी छन्। उनीहरू शारीरिक रूपमा निकै बलिया छन् र उत्कृष्ट फुटबल खेल्छन्। तर अन्तिम निर्णय मैदानमा हुने प्रदर्शनले गर्नेछ,’ उनले भने।
मेक्सिको र इंल्याण्डबीचको खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिल वा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।
हेड–टु–हेड
विश्वकप इतिहासमा मेक्सिको र इंल्याण्डबीच यो दोस्रो भेट हुनेछ। पहिलो पटक सन् १९६६ को विश्वकपमा दुवै टोली आमनेसामने भएका थिए। जहाँ इंल्याण्डले मेक्सिकोलाई २–० ले हराएको थियो। त्यस वर्ष इंल्याण्डले आफ्नो पहिलो र एकमात्र विश्वकप उपाधि जितेको थियो।
यस्तै, सन् १९८६ देखि २०१० सम्म भएका चार मैत्रीपूर्ण खेलमा पनि इंल्याण्डले मेक्सिकोलाई लगातार पराजित गरेको थियो।
यस खेलमा मेक्सिको घरेलु मैदानको फाइदा उठाउँदै एज्टेका स्टेडियममा नयाँ इतिहास रच्ने दाउमा छ। इंल्याण्ड पनि घरेलु टोलीलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यको साथ मैदानमा उत्रनेछ।
प्रकाशित: २१ असार २०८३ १८:५३ आइतबार





