२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

माटाको सुवास विद्रूपताको छाल

पुस्तक

साहित्य पनि नदीजस्तै प्रवाहशील हुँदोरहेछ।  मझधार फराकिलो र शान्त भई सरस बग्दा किनार प्रायः शुष्क र निरस रहन्छ।  यही प्रकृतिको नियम नेपालको भौगोलिक तथा सामाजिक संरचनामा पनि भेट्न सकिन्छ। त्यसैले भनिन्छ, मूलधारले इतिहास लेख्छ तर किनारले वास्तविक समाजको तस्बिर देखाउँछ। शिखा बुक्सबाट प्रकाशित पुष्पराज पाण्डेयको ‘किनार’ यही तथ्यको प्रामाणिक दृष्टान्त हो। सुदूरपश्चिमको माटाको सुगन्धित उत्पादन हो प्रस्तुत कृति।

यसले सुदूरपश्चिमको माटो, लैंगिक तथा वर्गीय विभेद र मानवीय संवेदनालाई हुबहु उतारेको छ।  देउकीको मिथक होस् वा देउडाको भव्यता, आधुनिक सहरीकरणका उपज बनेका विकृतिका चाङ होऊन् वा परम्परागत थारू संस्कृतिको जीवन्तताका अनेकौं माहोल, कथाकार पाण्डेयले यी सबै पक्षलाई एउटै संग्रहभित्र सँगालेका छन्।

सामाजिक व्यवहारका कारण पछि पारिएका सीमान्तकृत मान्छेका अनुभूतिजन्य भोगाइलाई मूलधार मानिएका साहित्यका पाठकका मन–मस्तिष्कमा झंकृत पार्ने गरी लेखिनु आवश्यक थियो।  यसैको परिपूर्ति कथाकार पाण्डेयले गरेका छन्– सामाजिक बहिष्करण र किनारीकृत सुदूरपश्चिमेली नेपाली समाजको जीवन्त शब्दचित्र ‘किनार’ कथा–कृति प्रकाशित गरेर।  

डिजिटल प्रभावको प्रवाहमा आजको विश्व जकडिएको छ। मोबाइलका कारण पनि अधिकांश मानिस प्रिन्ट मिडियाभन्दा डिजिटल प्लेटफर्ममा अभ्यस्त छन्। तथापि नेपाली साहित्यिक माहोल आँकलन गर्ने हो भने प्रिन्टमा खासै सुस्तता छैन, बरु चलायमान रूपमा नै भेटिन्छ।  नियमित प्रकाशनको लहरमा आएका आख्यानात्मक कृतिहरूले प्रायः चलनचल्तीका शैली–शिल्पको प्रयोग गर्दै आइरहेकै भेटिन्छ।  नवीन शैलीको प्रयोगमा रुचि राख्ने र सफल हुने केही कृतिको पङ्क्तिमा पुष्पराज पाण्डेयको ‘किनार’ कथासंग्रह उभिएको छ।

‘किनार’को सुन्दर पक्ष राज्यद्वारा अपहेलित तर प्राकृतिक सुन्दरताले भरिपूर्ण भूखण्डझैं पाठकका मनमा अनुभूत हुन्छ।  कथित ठालु, शोषक र सामन्तका जालमा सोझासाझा थारू समुदाय कसरी अरूका लागि नियोजित रूपमा प्रयोग भइरहेका छन् भन्ने जिज्ञासाको शमन गर्न यो कृति सफल छ। अधिकांश पात्र र परिवेश त्यही थारू समुदायसँग सन्दर्भित छन्।  व्यवहारमा सोझोपन, चेतनामा पछाडि परेका र शोषणमा सधैं थिचिएका पात्रहरूको बाहुल्य भेटिन्छ।  यसो हुनुका कारण लेखक त्यहींका भूमिपुत्र हुन् र स्थानीय लवजलाई कृत्रिमताको छनकसमेत नदिई स्थानीय रङमा कथाका विषयलाई सर्लक्कै पस्कन सफल देखिन्छन्।  यही विशेषता नै प्रस्तुत कृतिको सबल र सुन्दर पक्ष हो। सुदूरका रैथाने थारूहरूको दैनिक दिनचर्यालाई यति मिहिन रूपमा कथामा बुनेका छन् कि कुनै पनि पाठकले त्यहाँको माटाको सुगन्ध सहजै अनुमान गर्न सक्छ।

‘किनार’का प्रायः कथामा लेखनीगत विशिष्टता परिपक्व ढंगले प्रस्तुत भएको देखिन्छ।  पहिलो क्रममा रहेको ‘किनारमै छुटेका यादहरू’ शीर्षकको कथाभित्र अनेक उपकथाहरू समेटिएका छन्। यसले लेखकमा धैर्यपूर्ण परिपाकमा पुग्न सक्ने कथाकारको छनक दिन्छ। यसमा जीवनका आकर्षक क्षणदेखि पीडादायी अवस्थासम्मका विविध उहापोह भेट्न सकिन्छ। जसको उदाहरण कथा तीन ‘नजलाइदिनू है’ की पात्र सपनाको जिन्दगीले सविस्तार देखाइदिन्छ।  नगरवधूका रूपमा रहेकी सपना जिउँदो शरीरमा एसिडको जलन असह्य भएर मृत शरीरलाई समेत पीडादायी हुन सक्ने डरले नजलाउन गरिएको आग्रहले पाठकका मनमा चसक्क घोच्छ।

पहिलो कथाकै अर्को उपकथा पर्यावरणीय दृष्टिले उत्कृष्ट छ। त्योभन्दा बढी विश्वप्रसिद्ध एक आख्यानमा वर्णित गर्भिणी हरिणको छनक झल्कन्छ। सिकारमा अब्बल मानिएको सेते नामक पात्र कहिल्यै खाली हात जंगलबाट फर्कंदैनथ्यो  तर आज सुत्केरी मृगिणीको हत्याले पश्चात्तापको अँगेनामा छटपटाउँदा पशुप्रेमी मानिसका लागि अति कारुणिक सन्दर्भलाई कथाले जीवन्तता र न्याय दिएको छ। यस्तै अर्को उपकथा ‘वात्सल्यको रसायन’ले आमा–महात्म्य प्रस्तुत गरेको छ। आमा को हुन् भन्ने सन्दर्भमा गहन भावसहितको काव्यात्मक भाषाले कथाकारलाई मातृप्रेममा दार्शनिक कविका रूपमा उतारेको छ।

‘जवाफ हराएका प्रश्नहरू’ले वैदेशिक रोजगारीमा गएर बलात्कृत भई गर्भवती अवस्थामा फर्कनुपर्ने बाध्यात्मक अवस्थालाई कारुणिक रूपमा चित्रण गरेको छ। पहिलो कथाभित्रका सातवटै उपकथाहरू आफैंमा पूर्ण रूपेण आख्यानात्मक दृष्टिले सन्देशमूलक कथा–स्वरूपमा प्रस्तुत छन्।  यसले लेखकलाई एकातिर पहिलो कृतिमै परिपक्व लेखनीको हाइवेमा दौडाएको छ।  प्रयोगका नाममा नवीनता खोज्नेहरूका लागि उनी एक सबल दृष्टान्त बनेका छन्। अर्कोतिर, यस्तो प्रयोगाश्रित आख्यानले पाठकलाई कृतिभित्र दौडिइरहन उक्साइरहन्छ। कृति पठनमा पाठकलाई निर्बाध रूपमा तानिरहन्छ।

‘उज्ज्वल सरको तिर्खा’ एक शिक्षकको जीवनीमा आधारित कथा हो, जो नामुद पियक्कड हुन्छ।  यो आख्यान र नाटकको संयुक्त स्वरूपमा प्रस्तुत गरिएको छ। क्षमताले भरिपूर्ण एक शिक्षक, जसले कैयौं मानिसको जीवनलाई उच्च बनायो तर आफ्नै जिन्दगीको भोगाइलाई कहिल्यै उच्च बनाउन सकेन भन्ने यथार्थ यस कथामा देखिन्छ।

‘चिप्ले चोर’ रमाइलो कथा छ। कुनै समयमा सुदूरपश्चिमतिर अत्यन्त प्रभाव पारेको यथार्थ घटनासन्दर्भ यसमा आएको छ। माओवादी द्वन्द्वकालमा यौनकुण्ठा बोकेका अनेकन प्रवृत्तिका मानिसका अनौठा हर्कतहरू देखाइएका छन्। गाउँमा चिप्ले चोर को हुन सक्छ भन्ने अनुमानका थुप्रोबाट पृथक् परिणाम निकाल्दै कथा टुंगिन्छ। आफ्नो लोग्नेबाट तृप्त नभएर रूपनी गाउँका महिलालाई रातभर सिकार बनाउन उद्यत हुन्छे। मौलिक शैलीमा रचित यस कथाले बाइसेक्सुअल रूपनीको लेस्बियन यौनतृप्तिप्रति बढी रुचि देखाएको छ।

‘किनार’भित्र विविध विषयलाई मौलिक ढंगले कथामा बुनेका छन्।  ‘उम्मेदवार उर्फ औंठाछाप’ दमित तथा शोषित तथाकथित दलितलाई राजनीतिको छालमा हालेर कूटनीतिक पाराले चुनावी तिकडम गरिएको कथा हो।  ‘भद्रा थारुको मित’ कथामा पनि चुनावी माहोलकै कुरा समेटिएको छ।  यसमा कसरी सोझा थारूलाई दारुमा भुलाएर मिटर ब्याज र स्वार्थको जालोमा फसाइन्छ भन्ने देखाइएको छ।  राजनीतिमा अवसरवादीहरूको चरम नमुना हो यो कथा, जसमा सोझा थारूको जमिन हडप्ने व्यक्ति नै भूमिसुधार मन्त्री बनेको प्रसंगले तीव्र व्यंग्य गरेको छ।

मुखिया ब्राह्मणकी छोरी हेमलता र कथित दलितका छोरा बलेको प्रेम नेपाली समाजका कथा–कहानीमा सामान्य पाइने विषय हो। कथाकार पाण्डेयले जातीय संकीर्णतामा जकडिएको नेपाली समाजमा पहिरोका कारण अस्पतालमा पुगेकी हेमलतालाई आफ्नो रगत दिएर बचाएको आदर्श सन्देश ‘बदलाः एक प्रेमकथा’मार्फत दिएका छन्। पहिचानको खोजीमा ‘पहिचान’ कथाले पितृसत्तात्मक समाजमा महिलाको स्थानको महत्त्व देखाएको छ।  वर्तमान समयमा आमाको नामबाट नागरिकता दिइनुले पहिचानको अभावमा बाँचेकाहरूप्रतिको सहानुभूति व्यक्त गरेको छ।

वर्तमान परिवेशमा अपरिचित व्यक्तिबिच पनि सामाजिक सञ्जालमा मित्रता हुनु सामान्य बनेको छ।  यसले सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई प्रश्रय दिएको छ। यसै परिप्रेक्ष्यमा विदेशमा रहेका श्रीमान्की श्रीमतीसँगको साक्षात्कार कथाकारले अचम्मलाग्दो ढंगले प्रस्तुत गरेका छन्।  पाठकको अनुमानविपरीत स्वाभाविक रूपमा कथा टुंगिदा आनन्द लाग्छ। यो कथाकार पाण्डेयको लेखकीय धर्म र सीमाप्रतिको परिपक्वता तथा पवित्रताको संकेत मान्न सकिन्छ।

आधुनिक चिकित्साप्रति परम्परागत ढंगले बाँचेका थारूलाई चेतनाको सन्देश दिन ‘प्रिय बोक्सी’ कथा सफल छ।  नारी विद्रोहको नमुना स्वरूपको कथा हो ‘पेटीकोट काण्ड’। अर्को कथा, समाजबाट अपहेलित कुष्ठरोगीको मृत्यु–याचनाको पीडादायी खुसीको स्वरूप हो ‘ढडुवा खर्कको मृत्यु उत्सव’। ‘सीमा समाप्त’ एक महिलाको असहज परिस्थिति बताउने सामान्य प्रकारको कथा हो।  तथापि कुमारी आमाहरूको सन्दर्भले पुरुषमा रहेको मनोसामाजिक विकृतिको पराकाष्ठा देखाउन कथा सफल छ।  समग्रमा ‘किनार’ले नेपाली समाजको यथार्थ प्रस्तुत गर्दै पाठकको मनमा कौतूहल पैदा गरिदिन्छ। यसभित्र सीमान्तकृत तथा किनारीकृत यथार्थलाई बहुआयामिक पक्षबाट केलाइएको छ। 

प्रकाशित: २ श्रावण २०८३ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App