१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कार्कीलाई भेटेर भण्डारीले भनिन्- निर्वाचन राम्रोसँग गर्नुस् है

तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।

आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेपछि प्रधानमन्त्रीसँग भेट गरेकी हुन्।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आफूले प्रधानमन्त्रीलाई ‘निर्वाचनको राम्रो तयारी गर्नुस्’ भनेर सुझाव दिएको बताइन्।

भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले दुवैबिचको भेटवार्ता ऐतिहासिक र उपलब्धिमूलक भएको बताए।

मन्त्री खरेलले भने, ‘नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्यू र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबीचको यो भेटघाट ऐतिहासिक हो।’

मन्त्री खरेलका अनुसार भेटमा आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका विषयमा छलफल भएको थियो।

‘पूर्वराष्ट्रपतिज्यूले निर्धारित मितिमा निर्वाचन राम्रोसँग सम्पन्न गर्न सुझाव दिनुभयो र आवश्यक परे साथ सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो,’ मन्त्री खरेलले भने।

साथै, प्रधानमन्त्री कार्कीले सुशासनका पक्षमा चालिरहेका कदमहरूप्रति पूर्वराष्ट्रपति भण्डारीले सकारात्मक धारणा राखेको मन्त्री खरेलले जानकारी दिए।

‘प्रधानमन्त्रीले चालिरहेको कदमप्रति उहाँले एकदमै सकारात्मक भाव राख्नुभयो र आवश्यक परेको अवस्थामा थप सरसल्लाह र सहयोग गर्ने कुरा गर्नुभयो,’ उनले भने।

मन्त्री खरेलले पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार आउनुको मुख्य कारण भदौ २३ र २४ गतेको आगजनीपछिको अवस्था बुझ्नु रहेको स्पष्ट पारे।

‘जे जसरी सिंहदरबार जल्यो, त्यो अवस्थामा उहाँले एकचोटि सिंहदरबार हेर्नुपर्छ भन्ने चाहना राख्नुभएको थियो। त्यही अनुसार हामीले चाँजोपाँजो मिलाएका थियौँ,’ उनले भने।

तस्बिर: विजय राई/नागरिक

भेटका क्रममा दुवैबचि स्वास्थ्य अवस्था, पारिवारिक कुराकानी र व्यक्तिगत विषयमा पनि आत्मीय छलफल भएको बताइएको छ।

 हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: २१ मंसिर २०८२ १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App