१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भदौ २३ र २४ का घटना फरकफरक: भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएका घटनालाई फरकफरक ढंगले हेनुपर्ने बताएकी छन्। भदौ २३ गते जेनजीको शान्तिपूर्ण आन्दोलन सरकारले बल प्रयोग गर्दा प्रदर्शनकारीको ज्यान गएको तथा २४ गतेको घटना २३ गते गरिएको दमनको उपज र त्यसमा अन्य शक्तिहरुले चलखेल गर्दा हिंसात्मक बन्न पुगेको भण्डारीको बुझाइ छ। भण्डारीले जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमहरुबारे आफू निकट नेता र कार्यकर्तासँगको छलफल यस्तो धारणा राखेकी हुन्।

उनले आफू निकट नेता तथा कार्यकर्तासँग भदौ २३ गते आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि उत्पन्न राजनीतिक परिस्थिति र राजनीतिक दलको औचित्यबारेमा छलफल गरेकी छन्। ‘भदौ २३ गतेको फरक आन्दोलन हो, २४ गते अर्को आन्दोलन भयो। यी दुई घटनालाई फरक फरक ढंगले हेर्नुपर्छ ’, भण्डारीलाई उद्धृत गदै छलफलमा सहभागी एक नेताले भने। ती नेताका अनुसार मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिबारे भण्डारी निकै चिन्तित छिन्।

‘आन्दोलनकारीमाथि तत्कालीन सरकारले गरेको दमनको छानबिन हुनुपर्छ, जेनजीले गरेको आन्दोलन शान्तिपूर्ण हुँदा हुँदै कसले कहाँबाट तोडफोड गरेको हो? कसले गोली चलाएको हो? सरकारले निर्दोषमाथि गोली चलाएर किन उत्तेजित पारेको हो? घटनास्थलमै १९ जनाको ज्यान गयो र सयौंजना घाइते भए। यी सबै विषयमा निष्पक्ष अनुसन्धान, छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ,’ भण्डारीले भनेकी छन्।

लोकतान्त्रिक व्यवस्था र मूल्य मान्यतामा जेनजी अडिग रहेको आफूले पाएको तर उनीहरूको आन्दोलन घुपैठका कारण हिंसात्मक बनेको भण्डारीको बुझाइ छ। भण्डारीसँग बिहीबार भेट गरी फर्केका अर्का एक नेताले उनलाई उद्धृत गर्दै भने, ‘मुलुकका सबै राजनीतिक दलहरुको नेतृत्वमाथि प्रश्न उठेको छ। यस्तो बेलामा पार्टीका अन्य नेताहरुले अग्रसरता लिनु उपयुक्त हुन्छ।’

एमाले केन्द्रीय सदस्य रमेश पौडेल, रामजी सापकोटा, जीवछ साहलगायतसँग भण्डारीले भेटघाट गरेकी हुन्। भेटमा भण्डारीले तत्कालीन सरकारमा रहेका दलका नेताहरुले जेनजी आन्दोलनमा भएको दमन र हिंसाका विषयमा माफी नमाग्नुले उनीहहरुको अवस्था झन् कमजोर भएको पनि बताएकी थिइन्।

प्रकाशित: १० आश्विन २०८२ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App