एक पालिका एक अस्पताल अभियानअन्तर्गत पाँच वर्षदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैनन्।
ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो। जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन। अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन।
मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शड्ढयाको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन। वडा ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको मागअनुसार गाउँपालिका आफैंले गत वर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताए।
कुश्मा नगरपालिका–१२ ठुली पोखरीमा करिब पाँच करोडमा १० शड्ढयाको आधारभूत अस्पताल भवन गत वर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाध्यक्ष झलक रिमालको गुनासो छ।
जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा ३ मल्लाजमा करिब १० करोड रुपैयाँमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन। त्यसैगरी फलेवास नगरपालिका–६ देवीस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक करोड ७० लाख रुपैयाँ प्राप्त भई भवन निर्माण थाले पनि सम्पन्न भएको छैन। महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शड्ढया बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो।
गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माण करिब २० प्रतिशत मात्र भएको छ। पैयुँ गाउँपालिका–४ हुवासमा १० करोडमा निर्माणाधीन १० शड्ढयाको आधारभूत अस्पताल पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
त्यसैगरी विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेग्मीले जानकारी दिए। संघीय सरकारको सहयोगमा यसअघि वडा २ बर्राचौरमा निर्माण थालिएको १० शड्ढयाको बिहादी अस्पताल सात वर्षदेखि अलपत्र छ।
प्रकाशित: ५ भाद्र २०८२ २१:४२ बिहीबार





