नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले विश्वमा देखिएको ऊर्जा र पानीको संकटको एक प्रमुख कारण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोग भएको दाबी गरेका छन्।
तराईको खानेपानी समस्याबारे छलफल गर्न बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले यस्तो अनौठो तर्क प्रस्तुत गरेका हुन्।
नेता गौतमले आफूले हालै मोबाइलमा पढेको एक सामग्रीको हवाला दिँदै एआई प्रविधिले अत्यधिक मात्रामा विद्युत र पानी खपत गर्ने गरेको बताए।
‘एआई प्रविधिको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा विद्युत र पिउने पानीको संकट निम्त्याएको छ,’ उनले भने, ‘किनभने एआई चलाउन अत्यधिक ऊर्जा र पानी चाहिन्छ। हामीले सामान्य प्रश्न सोध्दा पनि यसले कति स्रोत खपत गर्छ भन्ने सुन्दा नै अचम्म लाग्छ।’
उनले एआईको एउटा सानो प्रोसेसिङमा पनि पानीको प्रयोग हुने बताउँदै विश्वभर अर्बौं पटक यस्तो हुँदा त्यसले जलस्रोतमा ठूलो चाप पारेको जिकिर गरे। ‘विश्वव्यापी रूपमा उत्पन्न भएका यस्ता समस्याको प्रभाव यहाँ (तराईमा) पनि परेको हुनसक्छ,’ गौतमले भने।
तराईको पानी संकटका विषयमा छलफल चलिरहँदा उनले यो विश्वव्यापी समस्यालाई समेत नेपालको स्थानीय परिवेशसँग जोडेर हेर्नुपर्ने बताए। एआईलाई मानिसको सहयोगमा मात्र प्रयोग गर्ने गरी नियन्त्रण गर्नुपर्ने उनको धारणा थियो।
एआईको प्रभावबारे बताउनुअघि उनले भारतले सीमा क्षेत्रको भूमिगत पानी खिचेका कारण तराईमा संकट आएको दाबी गर्दै त्यसमाथि ‘जासुसी तरिकाले’ अध्ययन गर्नुपर्ने बताएका थिए।
प्रकाशित: १५ श्रावण २०८२ २१:४१ बिहीबार





