२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन अब आधिकारिक रूपमा रास्वपा नेता

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन शाह अब आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेता बनेका छन्।

आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर उनले पार्टीको वरिष्ठ नेताको हैसियतमा आफ्नो कार्यकक्षबाट पदभार ग्रहण गरेसँगै उनी विधिवत रूपमा पार्टीको मूलधारको राजनीतिमा होमिएका हुन्।

महानगरको जिम्मेवारीबाट अलग भएको पत्र बुझाएलगतै वनस्थली पुगेका शाहलाई पार्टी सभापति रवि लामिछानेले मूल प्रवेशद्वारमा स्वागत गरेका थिए। स्वागतपछि सभापति लामिछाने र बालेनले संयुक्त रूपमा ‘घण्टी घर’ मा रहेको घण्टी बजाएका थिए।

त्यसलगत्तै शाह कार्यालयभित्र प्रवेश गरेका थिए। रास्वपाले वरिष्ठ नेताका रूपमा शाहका लागि कार्यालयमा छुट्टै कक्ष तयार पारेको थियो। सोही कक्षमा गएर उनले आफ्नो आसन ग्रहण गर्दै औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेका हुन्।

बालेन रास्वपा कार्यालय जाने खबरसँगै वनस्थली क्षेत्रमा हजारौंको संख्यामा समर्थक र शुभेच्छुकहरूको भीड लागेको थियो।

समर्थकहरूको बाक्लो उपस्थितिका बीच कार्यालय प्रवेश गरेका उनी पदभार ग्रहण गरेलगत्तै त्यहाँबाट बाहिरिएका छन्।

बालेनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ बाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। सोही प्रयोजनका लागि उनले आजै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका हुन्।

पार्टी कार्यालयमा औपचारिक प्रवेश र पदभार ग्रहणपछि बालेन र रास्वपा टिम आजै मधेश प्रदेशको भ्रमणमा निस्किने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ४ माघ २०८२ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App