नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी फागुनमा हुने प्रतिनिधि सभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा विघटित प्रतिनिधि सभामा बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डेले समानुपाति र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार नबन्ने बताएका हुन्।
बाजुरामा आयोजित निर्वाचन केन्द्रित पार्टी बैठकमा उनले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति भएको बताए। आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने उनको भनाइ थियो।
यहीँ पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन्। उनका अनुसार, अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ।
पूर्वमन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ञपर्यटन मन्त्री वर्ष झ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागिपरेको उल्लेख गरे। आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरे।
कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने विषय पार्टीका साथी तथा नेताहरूसँगको सल्लाहमा तय गर्ने समेत बताए।
प्रकाशित: २६ मंसिर २०८२ १५:१० शुक्रबार





-600x400.jpg)