साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल। खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन्। उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन्।
पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट विजयी भएसँगै अब उहाँको परिचयमा ‘सांसद्’ थपिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल ३९ हजार ८८३ मतसहित विजयी भएका हुन्। पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आएका उनले अन्ततः आफूलाई राजनीतिमा समाहित गरेका छन्। पोखरा महानगरपालिका–१४ मझेरीपाटनका पौडेलले सक्रिय राजनीतिमा आउन चाहेको भने विसं २०७९ देखि नै हो।
स्थानीय तहको चुनावलाई निर्दलीय बनाउनुपर्ने एजेण्डासहित विसं २०७९ को स्थानीय तह चुनावमा उनी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए। त्यो बेला ‘लौरो’ चिह्न लिएर चुनाव लडेका थिए उनले पाँच हजार १२८ मत ल्याएर पराजित हुनुपरेको थियो।
पौडेलले दलीय एकाधिकार, भ्रष्टाचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए। उक्त चुनावमा पोखरासहित देशका विभिन्न स्थानीय तहमा ‘अटेरी अभियान’ का सदस्यले उम्मेदवारी दिएका थिए।
स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने राजनीतिक दलबाटै उम्मेदवार बनेर विजयी भएका हुन्। निर्वाचित भएपछि रास्वपाका केन्द्रीय सदस्य उनले आफूले मतदाताको माग र आकङ्क्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने बताए। “रास्वपाले अहिले पाएको मत आशाको मत हो, मतदाताले हामीप्रति भरोसा गरेर मत दिएका छन्”, पौडेलले भने, “मतदाताको आशालाई निराशामा बदलिन दिनुहुँदैन, दिँदैनौँ।”
पौडेलले ‘जेनजी’ आन्दोलनमा युवा पुस्ताबाट प्रकट भएको आकङ्क्षालाई लिपिबद्ध गर्न र आन्दोलनका मागलाई नीतिगत तहमा लैजान आफूले भूमिका खेल्ने बताए। नीति निर्माणसँगै स्थानीय विकासका मुद्दामा प्राथमिकता छुट्टाएर काम गर्ने उनको भनाइ छ। पौडेल वातावरण, सम्पदा, कला, संस्कृतिको संरक्षणका मुद्दालाई विभिन्न माध्यमबाट प्रखर उठाउँदै आएका छन्। विसं २०७४ मा पहिलो उपन्यास कृति ‘पैताला’बाट लेखकका रूपमा उदाएका उनी अखबारी लेखनमा उत्तिकै सिद्धहस्त हुन्।
विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एण्ड मेन’ को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो। पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ‘र्यान्डम रिडर्स सोसाइटी अफ् नेपाल’को परिकल्पनाकारसमेत हुन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मेका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन्। उनीसँग शिक्षण पेसाको अनुभव पनि छ।
कास्की–१ मा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत ल्याएका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ २३:१९ शनिबार





