पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरू विरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको विभागले जनाएो छ । अदालतले पक्राउ अनुमति दिएपनि उनीहरु नेपालमा नभएका कारण सरकारले पक्राउ गर्न सकेको छैन।
गत भदौमा भएको जेनजी प्रर्दशनमा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा ठूलो मात्रामा पैसा भेटिएको आरोप लागेको थियो।
सोही विषयमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। देउवा दम्पती हाल उपचारका लागि हङकङमा छन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा गठित सरकारले एक सय बुँदाको कार्यसूची जारी गर्दै २०४८ सालयता सार्वजनिक पदमा बसेका विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो।
त्यसमा चार पूर्वप्रधानमन्त्रीसहित करिब १० हजार व्यक्ति अनुसन्धानको दायरामा आउने देखिएको छ। सरकारले सम्पत्ति छानबिनका लागि दुई चरणमा काम गर्ने तयारी गरेको छ। पहिलो चरणमा २०६२/६३ देखि हालसम्म र दोस्रो चरणमा २०४८ देखि २०६१/६२ सम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन हुने छ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चार पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरु गर्न थालेको हो। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको सम्पत्ति छानबिन गर्ने तयारीमा शाह सरकार छ। प्रहरीले दुई पूर्वमन्त्री आरजु राणा र दीपक खड्काको पनि सम्पत्ति छानबिन सुरु गरेको छ। सोही क्रममा खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ।
यसैगरी नेकपा संयोजक दाहाल पुत्री गंगा दाहालबारे पनि अनुसन्धान गर्ने प्रहरी स्रोतले जनाएको छ। यसैगरी राणाका भाइ भूषण राणाको पनि सम्पत्ति छानबिन हुने भएको छ। विगतमा विभिन्न पदमा रहेर वा नरही बिचौलियाको भूमिकामा रहेका व्यक्तिहरू पनि अनुसन्धान तानिने बताइएको छ।
देउवा २०६२ सालअघि र पछि गरेर पाँच पटक प्रधानमन्त्री भएका थिए। २०६२ सालपछि दाहाल तीन पटक, ओली चार पटक र नेपाल एक पटक प्रधानमन्त्री भए। नेपाललाई पतञ्जली योगपीठको जग्गा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। मुद्दा अदालतमा विचाराधीन छ। अख्तियारले सम्पत्ति शुद्धीकरणको विषयमा मुद्दा नचलाए पनि वर्तमान सरकारले उनीमाथि पनि अनुसन्धानको तयारी गरेको हो।
प्रकाशित: २५ चैत्र २०८२ १३:३० बुधबार





