राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राजनीतिक संकट समाधानका लागि नवीन समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्। उनले बिना तयारी चुनावमा जाँदा राजनीतिक दलहरूले नेपाली सेनालाई प्रहरीको जस्तै अवस्थामा पुर्याउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल एक्समा मिश्रले सेनाको प्रहरीकरण देशको लागि घातक हुने ठहर गर्दै यसले राष्ट्रिय सुरक्षाको अन्तिम आधार नै धराशायी हुने बताएका छन्। उनले लेखेका छन्, ‘यदि नवीनसमझदारी र संरचनागत पुनरावलोकनबिना नै देश चुनावमा गयो भने पार्टीहरूले सबैभन्दा पहिले लोकतान्त्रिकरणको नाममा नेपाली सेनालाई “प्रहरीकरण” गर्नेछन्।’
उनले राजनीतिक दलहरूले हालैका घटनाक्रमबाट प्रहरी र राष्ट्रपतिलाई समेत आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालेको उल्लेख गर्दै यस्तो प्रवृत्ति सेनाप्रतिको बदलाभावसँग जोडिएको बताए। उनले अगाडि भनेका छन्, ‘पार्टीहरूले प्रहरी र राष्ट्रपतिजस्तै सेना पनि आफूले चाहे अनुकूल हुनुपर्ने रहेछ भन्ने यो पटक राम्रोसँग बुझे। साथसाथै, उनीहरूभित्र यो पटक सेनाप्रति ठुलो बदलाभाव पनि छ।’
मिश्रले सेनाको प्रहरीकरण भएपछि देशको आशाको अन्तिम आधार नै भत्किने चेतावनी समेत दिएका छन्। उनले राजनीतिक दलहरूको निहित स्वार्थ र बदलाभावले सेनाको स्वायत्तता र पेसागत मान्यतालाई कमजोर बनाउने खतरा रहेको औँल्याए।
उनी लेख्छन्, ‘पार्टीहरूको त्यो निहित स्वार्थ र बदलाभावलाई सेनाले रोक्न सक्ने छैन, जसरी प्रहरीले आफ्नो दलीयकरण/गुटकरण/नेताकरण रोक्न सकेन। किनभने, त्यो काम पार्टीहरूले विधिपूर्वक गर्नेछन्। सेनाको पनि प्रहरीकरण भएपछि यो देशको आशाको अन्तिम आधार पनि भत्कियो भनेर बुझे हुन्छ।’
उनले नवीनसमझदारी बेगर चुनावको रटान लगाउँदा समाधान निस्कने कुरामा शंका व्यक्त गरेका छन्।
यस्तो छ उनको एक्स पोस्ट
कुरा गम्भीर छ,
त्यस्तो भयो भने सेनाको 'प्रहरीकरण' हुन्छ!
यदि #नवीनसमझदारी र #संरचनागत_पुनरावलोकन बिना नै देश चुनावमा गयो भने पार्टीहरूले सबैभन्दा पहिले लोकतान्त्रिकरणको नाममा नेपाली सेनालाई 'प्रहरीकरण' गर्नेछन्।
किनभने पार्टीहरूले प्रहरी र राष्ट्रपतिजस्तै सेना पनि आफूले चाहे अनुकूल हुनुपर्ने रहेछ भन्ने यो पटक राम्रोसँग बुझे। साथसाथै, उनीहरूभित्र यो पटक सेनाप्रति ठुलो बदलाभाव पनि छ।
पार्टीहरूको त्यो निहित स्वार्थ र बदलाभावलाई सेनाले रोक्न सक्ने छैन, जसरी प्रहरीले आफ्नो दलीयकरण/गुटकरण/नेताकरण रोक्न सकेन। किनभने, त्यो काम पार्टीहरूले विधिपूर्वक गर्नेछन्।
सेनाको पनि प्रहरीकरण भएपछि यो देशको आशाको अन्तिम आधार पनि भत्कियो भनेर बुझे हुन्छ।
त्यसैले #नवीनसमझदारी बेगर 'चुनाव-चुनाव-चुनाव' नै निकास हो भन्नेहरूले यो कुरा मनन गरून्।
प्रकाशित: १२ मंसिर २०८२ १०:११ शुक्रबार





